विजयपुर / धरानमा दैनिकजस्तै मोटरसाइकल चोरी हुने गरेको छ । चोरी दिनहुँ भए पनि नियन्त्रणमा प्रहरी असफलजस्तै भएको छ । पछिल्लो पटक मोटरसाइकलसहित चोरी गर्ने गिरोह र पार्टपुर्जा मोडिफाइ गर्ने ग्यारेजका सञ्चालक नै पक्राउ परेसँगै नयाँ तथ्य बाहिरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले चोरहरूसँग प्राविधिक ज्ञान नहुने भएकाले ग्यारेज वा ग्यारेज सञ्चालकको संलग्नता हुने गरेको दाबी गरे । उनले भने, ‘पहिले पनि संलग्नता हुन्छ भन्ने थियो, अब पुष्टि नै भयो, ग्यारेजहरूमा पनि निगरानी हुन्छ ।’
त्यसो भए अब मोटरसाइकल चोरी नियन्त्रणमा सहजता होला त भन्ने जिज्ञासामा डिएसपी बस्नेतले चोरी नियन्त्रण र अनुसन्धान सहज हुने दाबी गरे । चालु आर्थिक वर्षका ८ महिनामा इलाका प्रहरी कार्यालय धरानमा ८० वटा मोटरसाइकल तथा स्कुटर चोरी भएको तथ्याङ्क छ ।
यस तथ्याङ्कलाई केलाउने हो भने मासिक १० वटा मोटरसाइकल तथा स्कुटर चोरी हुने गरेको छ । ८० वटामध्ये ४ वटा स्कुटर रहेका छन् । महिनामा १० वटा मोटरसाइकल तथा स्कुटर चोरी भए पनि प्रहरीले भने कमै मात्र फेला पार्ने गरेको छ । प्रहरीले हालसम्म जम्मा १५ वटा मात्र मोटरसाइकल तथा स्कुटर फेला पारेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

१५ वटामध्ये ८ वटा बेवारिसे अवस्थामा फेला पारिएको हो । ७ वटा मोटरसाइकल तथा स्कुटरसहित चोरहरू पक्राउ गरेका छन् । ७ वटा मोटरसाइकल तथा स्कुटर चोरीमा १३ जनाको संलग्नता रहेछ ।
संलग्न १३ जनालाई चोरी मुद्दा चलाएको कार्यालयले जनाएको छ । साथै २ वटा ई–रिक्सा पनि चोरी भएको प्रहरीले जनाएको छ । पछिल्लो पटक बुधबार मोटरसाइकलसहित फरक–फरक स्थानबाट ५ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१५ का विशन श्रेष्ठ र तेह्रथुम म्याङ्लुङ नगरपालिका–७ का अल्बट लिम्बू रहेका छन् । उनीहरूले चैत ३० गते धरान–४ मनशान्त होटलको पार्किङ स्थलबाट राति को.१४ प ६४४४ नम्बरको भीआर मोटरसाइकल चोरेका थिए ।
चोरी भएपछि मोटरसाइकल धनी मनिष लिम्बूले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । निवेदनको आधारमा खोजी गर्दा बुधबार धरान–१५ श्यामचोकमा राज राईले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजबाट प्रहरीले फेला पारेको हो ।
उनीहरूले २ वटा भीआर मोटरसाइकल खोली पार्टपुर्जा अर्को मोटरसाइकलमा साटफेर गदैगर्दा पक्राउ गरेको डिएसपी बस्नेतले बताए । मोटरसाइकल ग्यारेज सञ्चालक २२ वर्षीय राज राई सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालिका–२ का हुन् ।
उनीहरूसहित ग्यारेजबाट को.५ प ७८७८ भएको भीआर २०० एच कम्पनीको इञ्जिन, हार्डफोर्ड मोटरसाइकल १, कालो रङको इञ्जिन, नम्बर केरमेट गरी नबुझिने बनाएको मोटरसाइकलको इञ्जिनको जस्तो देखिने फलामको मूल ढिक्का, भीआर लेखिएको खोलेर राखेको अवस्थाको पेट्रोल ट्याङ्की, मोटर साइकलको सिट, साइड कभर २ वटा, टायर, डिस्क तथा चेनस्पोकेटसहितको मोटरसाइकलको टायर, मोटरसाइकलको पछाडिको सम्पेन्सल बरामद गरिएको थियो ।
त्यस्तै अगाडिको सकअप २ वटा, इञ्जिनको भाग छोप्ने कभर, रातो स्प्रिङसहित पछाडिको सकअप, १ थान, मोटरसाइकलको फलामकै हेण्डिल, डिपर स्वीच, साइड स्टेण्ड, नम्बर केरमेट गरेर नबुझिने बनाएको फलामको चेसिस र मोटरसाइकलको पार्टपुर्जा खोल्न प्रयोग गर्ने विभिन्न उपकरणहरूसहित पक्राउ गरेको हो ।
धरान–१९ धनकुटे रोडबाट पार्किङ गरेको स्थानबाट हराएको मोटरसाइकल पनि प्रहरीले फेला पारेको छ । को.१८ प ३९७९ मोटरसाइकल धरान–२० सुन्तलेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकल चोरी गर्नेहरू रोसन मास्के र रवि राई रहेका छन् ।
उक्त मोटरसाइकल मास्केले चलाएका थिए भने राई पछाडि बसेका थिए । मास्के धरान–८ का हुन् भने राई धनकुटा साँगुरीगढी–८ तातोपानीका हुन् । गाउँ क्षेत्रमा प्रहरीको निगरानी कम भई चलाउन सहज हुने भएकाले चोरी गरी लगेको हुनसक्ने डिएसपी बस्नेतले बताए ।
उनले पहिले पनि धरानमा हराएको मोटरसाइकल पहाडी क्षेत्रमा फेला पारी मुद्दा चलाइएको बताए । वैशाख ७ गते मोटरसाइकल हराएपछि विश्वकर्माले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।