खुल्ला सडकमा दादागिरी देखाएको आरोपमा धनकुटाका विभिन्न स्थानीय तहमा घर भएका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको साँगुरीगढी गाउँपालिका–६ मालबाँसेस्थित खुल्ला सडकमा सवारी साधनलाई रोकेर हुल–हुज्जत तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महालक्ष्मी न.पा. वडा नं.–१ घर भई हाल, धनकुटा न.पा.–६ पात्ले बस्दै आएका २४ वर्षीय दीपक खड्का, तेह्रथुमको छथर  गाउँपालिका वडा नं.–२ घर भई, हाल धनकुटा न.पा.–९ बस्दै आएका २२ वर्षीय रामकुमार लिम्बू, धनकुटा न.पा. वडा नं.–९ गुठिटारका १९ वर्षीय आर्यन राई, गुठिटारकै १९ वर्षीय प्रदीप चाम्लिङ्ग, धनकुटा न.पा. वडा नं.–९ बेलहाराबँेसीका २३ वर्षीय दिलबहादुर दाहाल र सहिदभूमि गाउँपालिका वडा नं.–७ खाल्लेका २३ वर्षीय कृष्ण राई छन् ।

उनीहरुले बुधबार साँझ साढे ७ बजे भेडेटारस्थित मालबाँसेमा ट्रकलाई रोकेर अनावश्यक बखेडा झिकी दादागिरी देखाउँदै चालकलाई अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले ब्लाष्टलाई जानकारी दिए । ‘हाइवेमा जिकज्याक तरिकाले मोटरसाइकल हुइक्याउँदै अरु सवार सवारी साधनहरुसँग ठोक्याएर आफै निहुँ खोज्दै दादागिरी देखाउँदै रहेछन्,’ एसपी अधिकारीले ब्लाष्टसँग भने, ‘आफू जथाभावी मोटरसाइकल हुइक्याउँदै गल्ती गर्ने अनि राजमार्गमा गाडीलाई रोकेर धाक धम्की दिदैं पैसा असुल्न खोजेको भेटेपछि पक्राउ गरेका हौं ।’

एसपी अधिकारीको नेतृत्वमा हाइवेमा गएको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु विरुद्ध प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय धनकुटामा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ । मुद्दा दायर गरेर म्याद थप गरी उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

तस्विरः जिल्ला प्रहरी कार्यालय धनकुटा । ब्लाष्ट÷ सन्तवीर लामा