विराटनगर। विराटनगर भन्सार एजेण्ट प्रतिनिधि अक्बर अलीले कपडा र अन्य विभिन्न सामग्रीको तस्करी धन्दा चलाउने गरेको खुलेको छ ।
विराटनगर–६ शैलेश मन्दिर नजिक गोदाममा भण्डारण गरी राखिएको तस्करीको कपडा मोरङ प्रहरीले छापा मारेर बरामद गरेपछि उनको तस्करीधन्दा बाहिर आएको हो ।
प्रहरीले अलीको गोदामबाट तस्करी गरी ल्याएको हाफ पाइण्ट ४ हजार २ सय ८८ थान, ४ सय ३० थान भेस्ट, २४ जोर छालाको जुत्ता र २ सय २० थान बच्चाको कपडा बरामद गरेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।
‘छापा मारेर भन्सार छली गरिएको कपडा बरामद गरिएको हो’ डिएसपी मुकारुङले भने, ‘बरामद भएको कपडा आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय पठाएका छौं ।’ प्रहरीले उनको गोदामबाट लाखौं मूल्य बराबरको कपडा बरामद गरेको छ । अक्बरले ‘अली ट्रेडर्स’ को नाममा कारोबार गर्दै आएका छन् ।

अली भन्सार एजेण्टका प्रतिनिधि हुन् । उनका एजेण्ट भरतराज भट्टराई हुन् । तस्करी धन्दामा लागेका अलीले भन्सार कर्मचारीसँगको मिलेमतोमा एउटै बिलविजकमा दोहोरो मालवस्तु भिœयाउने र खुल्ला सीमाको फाइदा उठाउँदै तस्करी गरी कपडा ल्याउने गरेका छन् ।
भन्सार कर्मचारीसँग मिलेमतो गरी अलीले व्यापक तस्करी गरिरहेको स्रोतको भनाइ छ । अलीले सीमावर्ती भारतीय बजारदेखि सामान ल्याउने गरेका छन् र ती सामानको न्यून मूल्याङ्कन गर्ने सेटिङ विराटनगर भन्सारका कर्मचारीसँग गरेका छन् । त्यसबाहेक पनि निश्चित रकम दिएर भरिया प्रयोग गरी कपडा तस्करी गरी ल्याउने गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार न्यून विजकीकरण गरेबापत उनले विभिन्न सामानको तोकेरै भन्सारका तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीलाई कमिसन बुझाउने गरेका छन् ।
अलीले बुझाएको रकम भन्सारका उपल्लो तहका प्रमुख र कर्मचारीले बाँडफाँड गर्छन् । घूस बुझेपछि भन्सारका कर्मचारीले अलीको सामानको न्यून मूल्याङ्कन गरी कम भन्सार लिने र देशको राजश्व गुमाउने काम गरिरहेका छन् ।
दुई दिन बित्यो, कारबाही भएन
भन्सार छली गरेको आशङ्कामा कपडा बोकेको पिकअफ भेन विराटनगर भन्सार कार्यालयले नियन्त्रणमा लिएको दुई दिन बितिसक्दा पनि कुनै कारबाही भएको छैन ।
विराटनगर–६ सरौचिया घर भएका राजकुमार रौनियारले भारतीय नम्बर प्लेटको पिकअप भेनमा ल्याएको कपडा भन्सार छली गरेको आशङ्कामा बिहीबार राति नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । भन्सारले नियन्त्रणमा लिएको दुई दिन बितिसक्दा पनि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन । नियन्त्रणमा लिएको कपडा छुटाउन चलखेल सुरु भएको छ ।
नियन्त्रणमा लिएको बीआर ३८ जीए २६०६ नम्बरको कपडा बोकेको पिकअप भेन शनिबार साँझसम्म भन्सार कार्यालय परिसरभित्र राखेर अनुसन्धान सुरु भएको जनाएको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले अहिले पनि अनुसन्धान भइरहेको बताए । ‘अनुसन्धान जारी रहेकोले अहिले नै सबै कुरा भन्न मिल्दैन’ उनले भने, ‘राति नियन्त्रणमा लिएको कपडाको अहिले अनुसन्धान भइरहेको छ ।’ कपडा बोकेको पिकअप भेन आइसीपीदेखि १ सय मिटर उत्तर विराटनगर–१८ बाट नियन्त्रणमा लिएको थियो ।
रौनियारले एउटै बिलविजकमा दोहोरो मालवस्तु भित्र्याएको सूचना थाहा पाएपछि भन्सार प्रमुख शिव भण्डारीले आकस्मिक चेकजाँच गरेका थिए । पहुँचवाला रौनियारले भन्सार एजेण्टमार्फत् प्रज्ञापन–पत्र र सम्पूर्ण कागजी प्रक्रिया मिलाएर जोगाउन अहिले चलखेल सुरु गरेका छन् । सेटिङ मिलाउन माहिर रौनियारले भन्सार एजेण्टहरू प्रयोग गरेको बुझिएको छ । रौनियारले विराटनगर भन्सार एजेण्ट सङ्घका सचिव कृष्णबहादुर थापालाई प्रयोग गरी नियन्त्रणमा लिएको कपडा छुटाउन चलखेल सुरु गरेको भन्सार स्रोतले बताएको छ ।
विगत लामो समयदेखि सबै क्षेत्रका अधिकारीहरूलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा भन्सारमा न्यून विजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापन–पत्रको भरमा पूर्वका विभिन्न सहर हुँदै काठमाडौंसम्म रौनियारले पुर्याउने गरेका छन् ।