पूर्वाञ्चल विश्वविद्यालय (पियु) अन्तर्गतको इञ्जिनीयरिङ सङ्काय स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र परीक्षाको प्रश्नपत्र ‘आउट’ गरेको (परीक्षा अगावै बाहिरिएको) आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । 

प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई पक्राउ गरेको हो । 

प्रहरीले प्रश्नपत्र आउट गरेको आरोपमा पियुका कर्मचारी विराटनगर ८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, विद्यार्थीहरू संखुवासभाको मादी नगरपालिका ६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देहीको तिलोचन नगरपालिका १२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेन थापा गाउँपालिका १ का ३२ वर्षीय मिनप्रसाद भट्ट, गण्डागी गाउँपालिका ३ का ३१ वर्षीय भरत पन्त, सोही गाउँपालिका २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ४ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरी बोदेवरसाइन नगरपालिका ७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भई भक्तपुर लोकन्थली बस्दै आएका २६ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका मध्ये कार्की विद्यार्थी नेता हुन् । उनले पियुका कर्मचारी गौतमलाई लाखौं रुपैयाँ मोटो रकम दिने मौखिक सम्झौता गरी प्रश्नपत्र ‘आउट’ गरेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ । 

‘कार्की पियूका पूर्व विद्यार्थी पनि हुन्,’ मोरङ प्रहरीका एसपी सन्तोष खड्काले भने, ‘कर्मचारी गौतमलाई मोटो रकम दिने सहमति गरेपछि प्रश्नपत्र ‘आउट’ गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’ कार्कीले पनि पक्राउ परेका इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थी विजय पोखरेलसँग ८० हजार रुपैयाँ लिएपछि आउट भएको प्रश्नपत्र बिक्री गरेका थिए । 

त्यसपछि विजयले अन्य पक्राउ परेका विद्यार्थीहरूसँग १० देखि २० हजार रुपैयाँ लिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको एसपी खड्काले बताए । 

उनीहरूले कति जनासँग पैसा लिएर एकमुष्ट रकम लिए त्यो खुलिसकेको छैन । अहिले अनुसन्धानको क्रममा रहेकाले पछि खुल्दै जाने एसपी खड्काले बताए । पक्राउ परेका मध्ये ८ जना इञ्जिनीयरिङ सङ्काय स्नातक दोस्रो सेमिस्टरका विद्यार्थी हुन् । कार्की विद्यार्थी नेता र गौतम पियुका कर्मचारी हुन् । 

यसरी भयो प्रश्नपत्र ‘आउट’ 

परीक्षा हुनुभन्दा एक दिन अगाडि ‘फिजिक्स’ विषयको प्रश्नपत्र ‘आउट’ भएको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । पक्राउ परेका पियुका कर्मचारी कोमलप्रसाद गौतम कार्यालय सहायक हुन् ।

उनी विज्ञान तथा प्रविधि शाखासँगै प्रश्नपत्रको फोटोकपी पनि गर्दै आएका थिए । 

३ वैशाखमा ‘फिजिक्स’को परीक्षा थियो । त्यस दिनको बनेको प्रश्नपत्र बोकेर गौतम घर गएका थिए । ‘रातभरी सादा फोटोकपी पेपरमा लिखित रुपमा प्रश्नपत्र सहयोगी राखेर हस्तलिखित उतारे । त्यसपछि फोटोकपी गरेर परीक्षा हुनुभन्दा अगाडि सम्झौता अनुसार गोपाल कार्कीलाई प्रश्नपत्र दिएको अनुसन्धानबाट देखिएको छ,’ एसपी खड्काले भने, ‘प्रश्नपत्र कार्कीले पाएपछि अन्य विद्यार्थीहरूलाई सामाजिक सञ्जालको मध्यमदेखि प्रश्नपत्र पठाएको देखिएको छ ।’

कर्मचारी विराटनगर, विद्यार्थी काठमाडौंदेखि पक्राउ 

पूर्वाञ्चल विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृङ्खलाबद्ध रूपमा बाहिरिँदै आएको छ । यसअघि दुई वर्ष अगाडि पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको थियो । 

त्यसबेलाको घटना अनुसन्धान नभई गुपचुप भएर सेलायो । ३ वैशाखमा परीक्षा हुनुभन्दा अगाडि प्रश्नपत्र बाहिरिएको खबर बाहिर आएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए भने प्रश्नपत्र आउट भएको घटनालाई अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए । 

मोरङ प्रहरीले अनुसन्धानका लागि मोरङ प्रहरीका इन्स्पेक्टर पप्पु नायकको नेतृत्वको छुट्टै टिम गठन गरेको थियो । उक्त टिम गहन अनुसन्धानमा जुट्यो । सुरूवातमा प्रहरीले महेश यादवलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो । यादवलाई पक्राउ गरेपछि प्रश्नपत्र आउट गर्नेको सञ्जाल बाहिर आयो । 

‘अनुसन्धानको क्रममा प्रश्नपत्र आउट गर्न गिरोहको मुख्य नाइके काठमाडौं बस्ने गरेको खुलेपछि इन्स्पेक्टरको नेतृत्वको टोली काठमाडौं हानियो,’ मोरङका एक प्रहरी अधिकृतले भने, ‘प्रश्नपत्र आउट गर्ने कार्कीसहित ८ जना विद्यार्थीलाई काठमाडौंदेखि शनिबार पक्राउ गरी रातारात विराटनगर लिएर आएको हो ।’ कर्मचारी गौतमलाई आइतबार विराटनगरदेखि पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

अहिले इञ्जिनीयरिङ सङ्कायको स्नातकको चौथो, छैठौं र आठौं तहको ‘फाइनल’ परीक्षा भइरहेको छ । चैत २३ देखि सुरू भएको परीक्षा वैशाख २३ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।