मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्र राईको कार्यकक्षमा तोडफोड भएको छ ।
आइतबार दिउँसो स्ववियु सभापति सन्तोष लिम्बूको नेतृत्वमा आएको समूहले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको क्याम्पस प्रमुख राईले जानकारी दिए ।
बिआईसीटीको नयाँ भर्ना विषयलाई लिएर विवाद उत्पन्न भएको क्याम्पस प्रमुख राईले बताएका छन् । सुकुना बहुमुखी क्याम्पसमा बिआईसीटी विषय अध्ययनको लागि ३० जना विद्यार्थीको मात्र अनुमति रहेको थियो ।
जतिबेला इन्ट्रान्समा ३७ जना विद्यार्थीले नाम निकाले तर ३० जनाले मात्र भर्ना हुन पाए । क्याम्पस प्रमुख राईको अनुसार विद्यार्थीको चाप उक्त विषयमा बढेपछि यसै पटक क्याम्पसले अरु ६ सिट थप गरेर सिट संख्या ३६ पु¥याएको थियो ।
३० जना विद्यार्थीको कोटा हुँदा नै इन्ट्रान्समा नाम निस्किएका विद्यार्थीको सिट संख्या थप भएपछि भर्ना भएका थिए यसै विषयमा विवाद भएको क्याम्पस प्रमुख राईले बताए ।
तोडफोडपश्चात् सन्तोष लिम्बुले भने सामान्य विवादमा घटना भएको जनाएका छन् । यता क्याम्पस प्रमुख राईले समेत घटना सामान्य भएको बताएका छन् । स्ववियु सभापति र क्याम्पस प्रमुख बीचको विवादले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको सिसाको टेबुल फुटेको छ ।