लागूऔषधको दुर्व्यसनमा फसेकाले आफूले सेवन गर्ने लागूऔषध किन्नका लागि झापामा नेपाल टेलिकमको तार चोरी गरेको पाइएको छ ।
मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका एक सय ५० टेलिफोन अवरुद्ध भएका छन् । इन्टरनेट सेवा बन्द छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक किशोर र भारत पानीट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् । आइतबार राति पानीट्याङ्कीबाट पक्राउ गरेर दुवैलाई हाल इप्रका काँकडभिट्टाको हिरासतमा राखिएको छ ।
तार चोरीमा लामो समयदेखि गिरोह सक्रिय रहेको हुँदा अरु व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको डीएसपी दाहालले बताए । शनिबार राति काँकडभिट्टामा फेरि ७५ मिटर तार चोरी भएपछि प्रहरीलाई अभियुक्तको खोजतलासका लागि अनुरोध गरिएको नेपाल टेलिकम कार्यालय काँकडभिट्टाका प्रमुख श्यामकुमार अधिकारीले बताए । गत माघयता मेचीनगरमा तीन सय मिटरभन्दा बढी केबुल तार चोरी भइसकेको छ । इँटाभट्टा र धुलाबारी क्षेत्रमा समेत विगतदेखि तार चोरीका घटना भइरहेका छन् ।

तार चोरी भएसँगै त्यसक्षेत्रका एक सय ५० वटा ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्व हुँदा उपभोक्ताहरु आक्रोशित भएका छन् ।
पक्राउ परेका दुवै जना लागूऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ । गिरोहले रातमा तार चोरी गरेर भारतको पानीट्याङ्की बजारमा लग्दै बिक्री गर्ने गरेको पाइएको छ ।
टेलिकमको तार प्रतिकेजी एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ । कुलतमा फसेका युवाहरु तार चोरीमा संलग्न हुने गरेको र त्यही धन्दाबाट आर्जित रकमले लागूऔषध खरिद गरेर सेवन गर्ने गरेको पाइएको हुँदा अभिभावकसमेत छोराछोरीको आचरण निगरानीमा लाग्नु पर्ने देखिएको प्रहरीले जनाएको छ ।
रासस