धरान । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना हुने र उपचाररत अवस्थामा मृत्यु हुने सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

वैशाख ८ गते यतामात्र कोभिड अस्पतालमा एक महिलासहित ५ जनाको मृत्यु भइसकेको छ । सोमबार मृत्यु भएका तीनजनामा जनकपुर–८ धनुषाका ४८ वर्षीय पुरुष, विराटनगर महानगरपालिका –१२ का ७५ वर्षीय पुरुष र सोही महानगर वडा–१५ का ५६ वर्षीय पुरुष रहेका छन् ।

यसअघि इटहरी उपमहानगर–२ का ७८ वर्षीया वृद्धा, धरान उपमहानगर–११ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनीहरू सबै दीर्घरोगी भएका र सङ्क्रमित भएर सिकिस्त भएपछि आइसियु र एचडियु बेडमा भर्ना भएका थिए ।

यस्तो मृत्युदर कोरोनाको पहिलो लहरको ‘पिक टाइम’ मा मात्र भएको थियो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक प्रा.डा. प्रमोद बरालका अनुसार सोमबार मात्र एकै पटक तीनजनाको मृत्यु भएको थियो ।

उनका अनुसार कोरोना महामारीले भयावह स्थिति ल्याउन सक्ने अवस्था देखिएको छ । उनले कोरोना महामारीको दोस्रो लहर बढेसँगै प्रतिष्ठानको कोभिड अस्पताल उपचार गर्न भर्ना भएका सङ्क्रमितहरूको मृत्युदरमा वृद्धि भएको हो ।

श्वास–प्रश्वास र फोक्सो सम्बन्धी विशेषज्ञसमेत रहेका प्रतिष्ठानका पल्मोनरी विभागका प्रा.डा.दिव्यराज मिश्रले भने, ‘कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला सिकिस्त हुने सङ्क्रमितहरू बढी आइरहेका छन् । सङ्क्रमित भए पनि लक्षण नदेखिएकाहरू घरैमा क्वारेण्टिनमा बसेका छन् । सिकिस्त भएर आएकाहरूलाई आइसियु र हाईडिपेण्डेन्सी युनिटको बेडमा भर्ना गर्ने गरिएको छ ।’

यसैबीच प्रतिष्ठानको कोभिड अस्पतालमा राखिएका १० आइसियु बेड र २५ एचडियु बेड एकसातामै भरिन लागेका छन् । मङ्गलबारसम्ममा एचडियु बेडमा १९ जना र आइसियुमा १० जना भर्ना भइसकेको प्रतिष्ठानले जनाएको छ । ६५ जनरल बेड भने खालीजस्तै छन् ।

सिकिस्त बिरामीले कोभिड अस्पतालमा आइसियु र एचडियु बेड एकसातामै भरिन लागेकाले थप आइसियु र एचडियु बेड राख्नका लागि प्रतिष्ठानको आन्तरिक स्रोतले नभ्याउने रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले बताए । उनले ती बेडहरू अत्यन्तै महँगो हुने भएकाले प्रदेश र केन्द्र सरकारले दिने अनुदानमा भरपर्ने बताए ।