भण्टाबारी। ब्राउनसुगर मुद्दामा जिल्ला अदालत सुनसरीबाट पुर्पक्षका लागि थुनामा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको पाइएको छ ।

भारतीय नागरिक सिंहलाई जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटाउन बिचौलियाले गरेको प्रयास विफल भएपछि सिंह पुर्पक्षका लागि अहिले जेलमा छन् । आर्थिक प्रलोभनसँगै राजनीतिक दबावमा आएर केही सरकारी वकिल र केही निजी कानून व्यवसायीहरूले लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सिंहलाई उच्च अदालत विराटनगरबाट धरौटीमा छुटाउन पुनः चलखेल गरिरहेको पाइएको हो ।

सोही क्रममा सेटिङ नमिलेपछि  वैशाख ९ गते हुनुपर्ने पेशी सारिएको स्रोतको दाबी छ । सिंहलाई छुटाउन ठूलो आर्थिक चलखेलका साथै राजनीतिक दबावसमेत उत्तिकै रहेको स्रोतको भनाइ छ ।

धरानबाट ७७ ग्राम ब्राउनसुगरसहित मङ्सिर १९ गते पक्राउ परेका सिंहलाई जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटाउन सरकारी निकायबाटै चलखेल गरेको समाचार बाहिरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट ठूलो आर्थिक चलखेल गरेर छुटाउन सरकारी वकिलसहित केही निजी कानून व्यवसायीको अथक प्रयासका बावजुदसमेत जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाउने निर्णय ग¥यो ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरी इनरुवाले अभियुक्त सिंहलाई छुटाउन प्रहरीमाथि दबाव बढाउने देखि निर्दोष फसाउनेसम्मको षड्यन्त्र गरे पनि ब्लाष्ट टाइम्समा प्रमाणसहितको समाचार प्रकाशित भएपछि उनीहरूको केही नचलेको विशेष स्रोत बताउँछ । जिल्ला अदालत सुनसरीबाट अभियुक्त छुटाउन सफल नभएपछि उच्च अदालत विराटनगरबाट छुटाउन पुनः चलखेल भइरहेको खुलेको हो ।

लागूऔषध मुद्दामा जेलमा रहेका सिंहले सप्तरीबाट कीर्ते गरी नेपाली नागरिकतासमेत लिएका छन् । कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठा प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका सिंह भारतीय भएको भारतीय प्रहरीले नै पुष्टि गरिसकेको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा भएको समाचार प्रकाशित भएपछि उनको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीले छानबिन गर्दै जाँदा भारतीय प्रहरी र भीमनगरका स्थानीयबासीले राजकुमार सिंह भारतीय हुनुका साथै उनको पुख्र्यौली सम्पत्तिसमेत भारतको भीमनगरमा रहेको प्रमाण फेला परेको थियो ।

भारतको भीमनगर ओपीमा कार्यरत सव–इन्स्पेक्टर शत्रुघनप्रसाद साहले सप्तरी प्रहरीको छानबिनका क्रममा राजकुमार सिंह भीमनगरका स्थायी बासिन्दा भएको कुरा पुष्टि भएको बताएका थिए ।

लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीबाट साविक पकरी गाविस–२ हाल (महादेवा गाउँपालिका–१) जन्मस्थान भएको भनी स्वर्गीय ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएकोमा उक्त स्थानका स्थानीयवासी भने सिंह थर गरेका व्यक्तिको सो क्षेत्रमा बसोबासै नरहेको बताउने गरेका छन् ।

सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा हुन् भने उनका बाबुको वास्तविक नाम रामबालक सिंह हो । रामबालक सिंहको मृत्यु भइसकेको छ ।

कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएका राजकुमार सिंहको नागरिकता नम्बर ०७३९३११३ हो भने जारी मिति २०४६ वैशाख १० गते हो ।उनको भारतमा आधार कार्ड नम्बर ३२०८२९७२१८५६ हो भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको प्रमाणसमेत फेला परेको छ ।

यता उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले मुद्दाको चाप अत्यधिक भएका कारण पेशी सर्ने कुरा सामान्य भएको बताए । उनले कानूनी प्रावधानअनुसार आएको कुरा उपर बहस गर्दै कानूनको अधीनमा रहेर निर्णय गर्ने काम न्यायालयको भएको बताए ।

‘पेशी एउटा नभ्याएर हट्छ भने अर्को कानून व्यवसायीले हटाई दिन्छन्’ उनले भने, ‘वैशाख ९ गते १ सय ५० जति मुद्दा थियो ।’ उच्च अदालत विराटनगरले लागूऔषध मुद्दाका अभियुक्त भनिएका राजकुमार सिंहको विषयमा समेत सबुत प्रमाणका आधारमा निर्णय गर्ने रजिष्ट्रार थपलियाको भनाइ छ ।