भण्टाबारी  । छिमेकी देश भारतबाट कोरोना सङ्क्रमित व्यक्ति भित्रिन सक्ने भन्दै सुनसरीमा सशस्त्र प्रहरीले थप निगरानी बढाएको छ । 

भारतमा तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले सीमामा निगरानी बढाइएको हो ।

सीमा क्षेत्रमा रहेका १० वटा बोर्डर आउट पोष्ट (बिओपी) का साथै थप १३ स्थानमा बेस क्याम्प स्थापना गरी निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । 

सुनसरीको कोशी गाउँपालिका, हरिनगर, बर्जु, देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकामा १० वटा बिओपीसँगै थप १३ वटा बेस क्याम्प स्थापना गरिएको उनले बताए । १० वटा बिओपीसँगै थप १३ वटा बेस क्याम्पमा ६ सयको हाराहारीमा सशस्त्र प्रहरी परिचालित छन् ।

जिल्लाका भण्टाबारी, श्रीपुर, लौकही, लाही, उल्टी, घुस्की, अमडुवा, साहेवगञ्ज, कप्तानगञ्ज र वसन्तपुर गरी सीमा सुरक्षाका लागि १० वटा बिओपी स्थापना गरिएका छन् ।

ती बाहेक कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले कोही सङ्क्रमित व्यक्ति भारतबाट भित्रिन नदिनका लागि कोशी गाउँपालिका वडानम्बर ८ कोशी ब्यारेज, भण्टाबारीस्थित पूर्वी टोल, कोशी गाउँपालिका वडानम्बर ६ स्थित यादव टोल र वडानम्बर ५ कुम्याहीलगायत स्थानमा नयाँ बेस क्याम्प स्थापना गरेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल सुनसरीले हरिनगर गाउँपालिका–५ स्थित सिसुवा धर्मपुर र वडानम्बर ६ स्थित अर्नमामा बेस क्याम्प स्थापना गरेका छन् भने बर्जु गाउँपालिकाको वडानम्बर ३ स्थित हरिवन र वडानम्बर ४ स्थित पाल टोलमा बेस क्याम्प स्थापना गर्दै सीमामा निगरानी थालेका छन् ।

त्यसैगरी भारतसँग सीमा जोडिएका जिल्लाको देवानगञ्ज गाउँपालिका–३ स्थित पाचोसिमर र भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ६ स्थित इस्राइल कामतमा बेस क्याम्प स्थापना गरिएका छन् ।

यसका साथै सो बेस क्याम्पभित्र पर्ने साना–ठूला ५५ वटा नाकाहरूको पहिचान गर्दै उक्त क्षेत्रमा पोष्टहरूसमेत स्थापना गरी सशस्त्र प्रहरी परिचालन गर्दै विभिन्न ७१ स्थानमा सशस्त्र प्रहरीले ड्युटी गर्दै आएको एसपी पौडेलले बताए ।

भारतबाट सङ्क्रमित व्यक्ति आउने र समुदायमा घुलमिल हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै उक्त पोष्टहरू स्थापना गरी सशस्त्र प्रहरी ड्युटीमा परिचालित भइसकेको उनले बताए ।

बेस क्याम्प र पोष्टहरू स्थापना गरिनुका साथै नेपाल– भारतबीच भएको खुल्ला सिमानाको फाइदा उठाएर चोरबाटोबाट समेत सङ्क्रमित मान्छे भित्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सेक्टर विभाजन गरी सीमा सुरक्षा बल सुनसरीबाट इन्स्पेक्टरको कमाण्डमा बोर्डर क्षेत्रमा गाडी तथा पैदल गस्ती खटाइएको एसपी पौडेल बताउँछन् ।

कोरोना भाइरस (कोभिड–१९) नेपालसँग खुल्ला सीमा जोडिएको भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेकाले सुनसरीको सीमावर्ती क्षेत्रका साथै कोरोना भाइरस भित्रिन सक्ने अरू सम्भावित स्थानको पहिचान गरी उक्त भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको उनले बताए ।

सशस्त्र प्रहरीले सीमा सुरक्षामा निगरानी बढाउनुका साथै सङ्क्रमित व्यक्ति भेटिएको अवस्थामा त्यस्ताको व्यवस्थापनमा समेत खटिने गरेको एसपी पौडेलको भनाइ छ ।

सुनसरीमा शुक्रबारबाट लगाइएको निषेधाज्ञा पालन गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, भीडभाड नगर्न, समय–समयमा सेनिटाइजर र साबुन–पानीले हात धुन सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले समेत बजार क्षेत्रका साथै गाउँ–गाउँमा माइकिङ गर्दै आएको छ ।

भारतसँग खुल्ला सीमाका कारण संवेदनशील मानिएको सुनसरीका सीमा नाकामा निगरानी बढाएको बताउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रजिअ उमेशकुमार ढकालले निषेधाज्ञा पालन गर्न आग्रह गरेका छन् ।

छिमेकी मुलुक भारतमा दिनहुँ लाखौंको व्यक्तिमा सङ्क्रमण फैलिइरहेको अवस्थाका ५–१० रुपैयाँ सस्तोको लोभमा चोरबाटो हुँदै भारतीय बजारमा गएर किनमेल नगर्न सर्वसाधारणमा उनले आग्रह गरे ।

प्रहरी प्रशासनले चाहेर मात्र कोरोना महामारी नियन्त्रण गर्न नसकिने भएकाले सर्वसाधारणको सहयोग अपरिहार्य रहेको प्रजिअ ढकालको भनाइ छ । सुनसरीको भण्टाबारीबाहेकका अन्य नाकाबाट आवात–जावत बन्द गरिएको छ ।

भारतबाट आउने नेपालीहरूलाई भण्टाबारीको तीनकुने नाकामा चेकजाँचपश्चात् मात्र आउन दिने गरिएको छ भने भारतीयलाई जान दिएको सशस्त्र प्रहरीले जनाएको छ ।