भण्टाबारी। नयाँ भेरिएण्टको कोभिड–१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या दिनानु दिन बढिरहँदा समेत सुनसरीमा आइसोलेसन सेण्टर तयारी अवस्थामा नरहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार शनिबारसम्म जिल्लामा नयाँ भेरिएण्टका कोभिड–१९ बाट २ सय ४५ जना व्यक्ति सङ्क्रमित भएका छन् । तीमध्ये १ सय ३४ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन् भने २२ जना कोरोना सङ्क्रमित व्यक्तिलाई विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ । बाँकी भने होम आइसोलेसनमा रहेका छन् ।
सहायक प्रजिअ पोखरेलले जिल्लाका स्थानीय तहहरूसँग मिलेर सुनसरीमा ४ सय बेड क्षमताको आइसोलेसन सेण्टर तयारी अवस्थामा रहेको दाबी गरिए पनि स्थानीय तहमा आइसोलेसन सेण्टर सञ्चालनमा आएको अवस्था छैन ।
जिल्लाका स्थानीय तहहरूसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले आइसोलेसन सेण्टर बनाउने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले संयुक्तरूपमा मिलेर आइसोलेसन सेण्टर निर्माण गर्न पत्राचार गरेअनुसार आफूहरूले आइसोलेसन सेण्टर पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य संयोजक आलम अन्सारीले जानकारी दिए ।
‘जिल्ला प्रशासन कार्यालयबाट पत्राचार गरिएअनुसार आइसोलेसन सेण्टर पुनः सञ्चालनमा ल्याउने काम गरिरहेका छौं’ उनले भने, ‘केही दिनमै सञ्चालनमा ल्याउँछौं ।’
सहायक प्रजिअ पोखरेल भने कोशी र भोक्राहाले मिलेर एउटा, हरिनगर, बर्जु र गढीले एउटा, इटहरी र धरान उपमहानगरपालिकाले एउटा–एउटा तथा इनरुवा नगरपालिकाले एउटा तथा रामधुनी र वराहक्षेत्र नगरपालिकाले एउटासहित जम्मा जिल्लामा ४ सय बेड क्षमताको आइसोलेसन सेण्टर तयारी अवस्थामा रहेको दाबी गरे ।
कोशी र भोक्राहाको भोक्राहामा, इनरुवाको नयाँ बसपार्कमा, हरिनगर, बर्जु र गढीले संयुक्तरूपमा हरिनगर गाउँपालिका वडानम्बर १ स्थित भुटाहा जेनेरल हस्पिटलमा, इटहरी उपमहानगरपालिकाले इटहरी रङ्गशालामा, धरान उपमहानगरपालिकाले एन्फा एकेडेमीमा र वराहक्षेत्र र रामधुनी नगरपालिकाले वराहक्षेत्र नगरपालिकास्थित रामानन्द पीठमा आइसोलेसन सेण्टर सञ्चालनमा ल्याउन गृहकार्य गरे पनि सञ्चालन आएको छैन ।
प्रदेश सरकारको सहयोगमा भोक्राहा नरसिंह गाउँपालिकामा १ सय बेडको होल्डिङ सेण्टर तयारी अवस्थामा रहेको सहायक प्रजिअ पोखरेलले सञ्चारकर्मी समक्ष जनाए पनि भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा न क्वारेण्टाइन छ, न त आइसोलेसन सेण्टर नै सञ्चालनमा आएको स्थानीय हाजी इस्राल मन्सुरीले जानकारी दिए ।
कोभिड–१९ को दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा आइसोलेसन सेण्टर यथाशीघ्र सञ्चालनमा ल्याउन उनले माग गरे । जिल्लाका स्थानीय तह र स्थानीय प्रशासनले न आइसोलेसन सेण्टर, न त क्वारेण्टाइन नै निर्माण गरेका छन् ।