विराटनगर । कोरोना संक्रमितको उपचार गर्दै आएका विराटनगरका दुई ठूला मेडिकल कलेजका कोभिड अस्पतालको शैया भरिएको छ । विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजको कोभिड उपचार केन्द्रको शैय्या संक्रमित भरिएका हुन् । 

यी दुई अस्पतालमा कोरोना संक्रमित विरामीले शैय्या भरिएपछि नयाँ बिरामी भर्ना लिन छोडेको छ । विराटले शुक्रबारदेखि र नोबेलले शनिबारबेलुका देखि नयाँ संक्रमित विरामी भर्ना लिएको छैन । 

नोबेल मेडिकल कलेजकामा संक्रमितले शैया गरिएपछि नयाँ संक्रिमित लिन छोडेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।  उनका अनुसार शनिबार दिउँसोसम्म कलेजमा ३८ जना संक्रमित थिए । राति करिब १० बजेसम्म अस्पतालमा भएका ७० वटै बेड भरिएको उनले बताए ।

कलेजले १० वटा बेडको आइसियू सञ्चालन गरिरहेको थियो । अक्सिजन आवश्यक पर्ने बिरामी बढेपछि आइसियू बेडको सख्या ३९ पु¥याइएको उनले बताए । ‘हाम्रो क्षमता एक सय १० बेड सञ्चालन गर्ने हो तर अहिले ७० बेडमात्रै तयारी अवस्थामा छ,’ उनले भने, ‘बाँकी बेड थप्दैछौँ, बेड थप भएपछि केही राहत हुन्छ ।’

नयाँ बिरामी भर्नाका लागि तारान्तर फोन आइरहेको उनले बताए । ‘बिरामी भर्ना गर्नुपर्यो भन्दै फोन आउँछ, हामीसँग बेड खाली छैन,’ उनले भने, ‘चाप धान्न धेरै गाह्रो भइसक्यो ।’

विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । कलेजको आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार विराटमा शुक्रबारबाटै बेड भरिएको बताए । ‘कोभिड १९ उपचार केन्द्रमा एक सय छ सर्वसाधारण र १४ जना अस्पतालकै कर्मचारी भर्ना हुनुहुन्छ,’ उनले भने, ‘नयाँ बिरामी भर्ना लिएका छैनौँ ।’ बिरामीको चाप अत्यधिक बढेपछि थप सातवटा आइसियू बेड थप्ने गृहकार्य सुरु भएको उनले बताए ।

‘संक्रमितलाई  बेड अभाव छ, हिजो दुई जनाको मृत्यु भएपछि इमरजेन्सीमा भर्ना भएकालाई कोभिडमा सार्यौँ,’ देवले भने, ‘नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।’


कोशीमा गम्भिर र अक्सिजन आवश्यक पर्ने विरामी मात्र भर्ना

प्रदेश १ सरकारले सञ्चालन विराटनगरमा संचालनमा ल्याएकोे कोशी कोभिड उपचार केन्द्रमा अक्सिजन आवश्यक पर्ने गम्भिर खालका विरामी मात्र भर्ना लिने गरेको छ । त्यही भएर आइतबार दिउँसोसम्म ६८ वटा बेड खाली छ । 

२१ वटा भेन्टिलेरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको बेड गरि ९६ शैय्याको अस्पतालमा आइतबार दिउँसोसम्म २८ जना संक्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख बैजनाथ साहले जानकारी दिए । भर्ना भएका मध्ये १० जना भेन्टिलेटरसहितको आइसियूमा छन् ।  

८० बेडको कोरोना उपचार केन्द्र भने ममर्तका लागि भन्दै प्रदेश सरकारले बन्द गरेको छ । बिरामी भर्ना भएका उपचार केन्द्रमा पनि बिरामीको चाप बढेकाले बेड भरिन समय नलाग्ने उनले बताए । ‘संक्रमित बिरामीको संख्या बढदै गएको छ,’ साह भने, ‘अस्पताल आउने अधिकांश अक्सिजन लेभल कम भएका बिरामी छन् ।’