धरान । तेह्रथुमको छथर गाउँपालिका–४ हाक्पारास्थित जलकन्या आधारभूत विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलेर सेटिङमा शिक्षक नियुक्त गर्ने षडयन्त्र गरेपछि अभिभावकले विद्यालयमा तालाबन्दी गरिदिएका छन् । 

अभिभावकले संघर्ष समिति गठन गरेर तालाबन्दी गरिदिएका हुन् । समितिका संयोजकसमेत रहेका विद्यालय व्यवस्थापन समितिका सदस्य तोकेन्द्रकुमार लिम्बूका अनुसार नियमानुसार वैशाख १६ गते शिक्षक दरबन्दीका लागि सूचना टाँस गर्नुपर्ने थियो । तर, प्रधानाध्यापक तेजबहादुर लिम्बू र विव्यासका अध्यक्ष ठकेन्द्र लिम्बूले गुपचुपमा वैशाख २९ गते अपरान्ह ५ बजेतिर मात्रै सूचना टाँस गरेका थिए ।

सूचनाअनुसार चित्रबहादुर सार्कीले भोलिपल्ट ११ बजेतिर निवेदन दिएका छन् । जुनदिन दिनभरि विद्यालय नखुलेको अभिभावक बताउँछन् । विद्यालय नखुलेकै कारण भोलिपल्ट अर्थात् वैशाख ३१ गते तालाबन्दी गर्नुपरेको उनी बताउँछन् । चित्रबहादुरको निवेदन पनि रितपूर्वक नलिएको प्रअ तेजबहादुरको भनाइबाट प्रस्टिन्छ । प्रअ तेजबहादुरले चित्रबहादुरको निवेदन बिहान करिब ११ बजेतिर घरमा नै लिएको स्वीकार गरे । 

प्रअ तेजबहादुर र विव्यासका अध्यक्ष ठकेन्द्र कम्युनिष्ट निकट मानिन्छन् । उनीहरू कम्युनिष्ट निकटकै शिक्षकलाई दरबन्दी दिलाउनका लागि सूचना निकाल्नुपर्ने मितिमा सूचना ननिकाली अन्तिम समयमा सूचना टाँस गरेर षडयन्त्र गरिएको पूर्व विव्यासका अध्यक्ष सिद्धमान लिम्बूले फोनसम्पर्कमा बताए । ‘३० गते विद्यालय पनि खोलिएन, त्यो दिन दिनभरि विद्यालय नखोलिएपछि भोलिपल्ट अभिभावकहरू मिलेर तालाबन्दी गरेका हुन्’ उनले फोन सम्पर्कमा भने । रितपूर्वक सूचना प्रकाशित नगरिएपछि अभिभावकहरू भेला भई संघर्ष समिति गठन गर्दै तालाबन्दी गरेर आन्दोलित बनेको उनले बताए । 

हाल विद्यालयमा तीनजना शिक्षक छन् । करिब १५ जना विद्यार्थी छन् । बालकक्षाका लागि एकजना महिला शिक्षक छन् भने निजी दरबन्दीमा एकजना महिला शिक्षक नै छिन् र प्रअ गरी तीनजना शिक्षक छन् । हाल करारका लागि एकजना शिक्षक माग गर्नका लागि सूचना जारी गरिएको छ । जुन सूचना रितपूर्वक नभएको अभिभावकको भनाइ छ । समितिका संयोजक तोकेन्द्रकुमारका अनुसार विव्यासको बैठक समेत नबसी शिक्षक नियुक्त गर्न लागिएको हो ।

‘म आफैं समितिको सदस्य पनि हुँ, अभिभावक पनि, मलाई नै विव्यासको बैठक बसेको याद छैन’ उनले भने । उनले निस्पक्ष रूपमा शिक्षकको निवेदन लिएर खुल्ला प्रतिस्पर्धामार्फत् करारमा नियुक्त गर्नुपर्ने समितिको माग रहेको बताए । ‘जोसुकै आओस्, त्यो सरोकारको विषय रहेन’ उनले भने, ‘तर, सबैले भिड्न पाउने वातावरण तयार गरिनुपर्छ ।’ खुल्ला प्रतिस्पर्धा नगराएसम्म तालाबन्दी कायमै रहने उनले बताए । 

सिद्धिमानका अनुसार आफूहरू वैशाख ३० गते बिहानदेखि साँझसम्म बस्दा पनि विद्यालय नखुलेको र बुझ्दा सेटिङमा राख्ने तयारी भइसकेको छ, निवेदन नहाल्नुहोला भनेर भनेपछि अभिभावक आन्दोलित बनेका थिए । यता प्रअ तेजबहादुरले सेटिङ नभएको दाबी गरे । उनले भने, ‘सेटिङ गरेको भए सूचना टाँस गरिँदैन, सञ्जालमा पनि सूचना गरिँदैन ।’ उनले कोरोना महामारीका कारणले विव्यासको बैठक बस्न नसकेको स्वीकार गर्दै प्रअ र विव्यास अध्यक्षको कुनै मिलोमतो नभएको दाबी गरे ।

‘हामीले २९ गते अपरान्ह ३–४ बजे सूचना टाँस गरेकै हो, सूचनामा फोन नम्बरहरू पनि उपलब्ध गराएकै थियौं, आवेदकले फोनमार्फत् आएर पनि निवेदन दिनु पथ्र्यो’ उनले भने, ‘अर्का निवेदकको पनि घरमै निवेदन लिएका हौं, म एक्लो मान्छेले दिनभरि त स्कुल खोल्न सक्दिन नि, त्यहीँ पनि परीक्षा सकिएर स्कुल बन्द नै छ ।’ उनका अनुसार कोही कसैको निवेदन नलिने भनेर नभनेकाले आफूहरूको कुनै गल्ती नभएको दाबी गरे । 

समितिले २६ जना अभिभावक भेला गरेर वैशाख ३१ गते विद्यालयमा तालाबन्दी गरेका थिए । खुल्ला प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना नगरेसम्म तालाबन्दी कायमै रहने बताइएको छ । विद्यालय सिधुवा बजारदेखि २४ किलोमिटर पूर्वमा पर्छ ।