संखुवासभा । पाँचखपन नगरपालिका १ मा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । वडाका एक जनामा संक्रमण देखिएपछि सम्पर्कमा आएक ११ जनाको पिसिआर परिक्षण गरिएकोमा ८ जनामा पोजेटिभ देखिएको हो ।

गत बुधबार एक पुरुषमा पिसिआर परिक्षण गराउँदा पोजेटिभ देखिए पछी आइतबार ११ जनाको स्वाब संकलन गरि परिक्षणको लागि धनकुटा पठाइएको थियो ।

उक्त परिक्षणको बुधबार प्राप्त जानकारी अनुसार ८ जनामा पोजेटिभ देखिएसंगै पाँचखपन नगरपालिका १ मा संक्रमितको संख्या ९ पुगेको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।

संक्रमण फैलिन नदिन तत्कालका लागि वडा सिल गरिएको वडाध्यक्ष बुढाथोकीले बताए । तर गाउँमा थुप्रै जना कोरोनासँग मिल्दो जुल्दो बिरामी परिरहेको हुनाले गाउँभरी नै संक्रमण फैलिएको हुनसक्ने उनले बताए ।

पाँचखपन नगरपालिकाका अन्य वडामा भने हालसम्म संक्रमित नभेटिएको तर परिक्षण गर्दा संक्रमित अन्य वडामा पनि हुनसक्ने उनले बताए ।

संक्रमण फैलिन सक्ने भन्दै नगरपालिकाले बुधबार देखि जेठ १२ गतेसम्म अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ ।