धरान । धरान १३ को अमर आधारभूत विद्यालयमा थप दुई कोठा निर्माण थालिएको छ ।
नयाँ निर्माण सुरु गरिएको कोठामा कम्प्युटर शिक्षा दिने उद्देश्य रहेको छ । राष्ट्रपति शिक्षा सुधार कार्यक्रमअन्तर्गत १८ लाख रुपैयाँ भवन निर्माणका लागि आएको थियो । उक्त कार्यक्रममार्फत् नै १० वटा कम्प्युटर पनि आउने क्रममा रहेको वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए । हाल स्कुलमा ९० जना विपन्न परिवारका विद्यार्थी अध्ययरत छन् ।
उपभोक्ता समितिकै पहलमा भवन निर्माण गर्न लागिएको विद्यालय व्यवस्थापन समिति (विव्यास) का अध्यक्ष हरिहरप्यारा श्रेष्ठले जानकारी दिए । भवनको बिहीबार बिहान वडाध्यक्ष काफ्लेले शिलान्यास गरेका छन् । असारको २५ भित्र सम्पूर्ण काम सक्नुपर्ने चुनौती समितिलाई छ । समितिले गौरा कन्ट्रक्सन प्रालिसँगको सहकार्यमा भवन निर्माण गरिरहेको छ ।
विद्यार्थीहरुलाई आकर्षण गर्न कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको हो । कक्षा ४ र ५ का विद्यार्थीलाई लक्षित गर्दै कम्प्युटर कक्षा सञ्चालन गरिने भएको हो । त्यसका लागि हाल विद्यालयमा ५ वटा कम्प्युटर रहेका छन् । वडा कार्यालयले हालसालै एउटा कम्प्युटर प्रदान गरेको थियो भने विभिन्न दाताले अन्य चारवटा कम्प्युटर प्रदान गरेका थिए ।
हाल तीनजना शिक्षक छन् । निजी स्रोतबाट एकजना र अन्य दुईजना स्थायी शिक्षक छन् । बाल कक्षामा एलकेजी र युकेजी पनि अध्यापन गरिँदै आएको विव्यासका अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठ वडा १३ का पूर्व वडाध्यक्ष हुन् ।