इराकविरुद्ध रक्षात्मक रणनीतिमा मैदानमा देखिएको नेपाल रणनीतिक त्रुटि र कमजोरीकै कारण फराकिलो हार बेहोर्न बाध्य भएको छ ।
घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो ६–२ गोलअन्तरको हार व्यहोरेको छ ।
बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा शनिबार इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।
नेपालका मनिष डाँगीले एक गोल फर्काउँदा इराकका अहमेद इब्राहिम खलाफको नेपालले उपहार गोल पायो ।
खेलको सातौं मिनेटमा कप्तान खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाए । तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आफ्नै पोस्टमा गोल गरे ।
खेलको २९ औं मिनेटमा मनिषको डेब्यु गोलबाट नेपालले २–१ को अग्रता बनायो ।
३९ औं मिनेटमा मोहमद अब्दुल्जाराले हेडरमार्फत गोल गर्दै इराकलाई २–२ गोलको बराबरीमा ल्याए ।
४० औं मिनेटमा अयमन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।
खेलको ६७ औं मिनेटमा मोहनद अलिले गोल गरेपछि इराक ५–२ ले अघि रह्यो । खेलको ७५ औं मिनेटमा सजाद जासिमले गोल गर्दै इराकलाई ६–२ को फराकिलो जित दिलाए ।
नेपालले इराकसँगको चौंथो भेटमा समेत पराजय बेहोर्यो ।