धरान । जेठ २७ गते शौचालयमा बेहोस अवस्थामा भेटिएकी चिकित्सा क्षेत्रकी छात्रा सेजल कोइरालाको बलात्कार पछि हत्या भएको प्रहरीले अनुसन्धानको क्रममा तथ्य फेला पारेको छ । 

उनी झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडिलोलोजीकी तेस्रो वर्षकी विद्यार्थी सेजलको बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । हत्याको आशंकाका प्रहरीले भोजपुर घर भएका एक युवालाई नियन्त्रणमा लिएको छ । 

दमक नगरपालिका ६ रातोपुल बस्दै आएका २८ वर्षीय अरुण राईलाई इलाका प्रहरी कार्यालय दमकले मंगलबार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अरुण र सेजलबीच प्रेमसम्बन्ध रहेको बताइएको छ । तर, प्रहरीका अनुसार घटना भएको दिन अरुण सेजल बस्ने घरमा रहेको देखिएको छ । मृतकको प्रारम्भिक परीक्षणको रिपोर्ट आएपश्चात हत्या भएको आशंका गरिएको हो । 

मृतकको बुबाले पनि जर्बजस्ती करणीपश्चात् कर्तव्य गरी मारेको भन्दै प्रतिवादी अरुण राईको नाममा किटानी जाहेरी आएकाले तत्काल पक्राउ गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ । 

युवती दमक ५ मा डेरा बस्दै आएकी थिइन् । इलाम देउमाई नगरपालिका ४ मंगलबारेकी उनी अध्ययनको क्रममा दमकमा बस्दै आएकी थिइन् । उनलाई साथीहरूले शौचालयमा बेहोस अवस्थामा भेटेका थिए । तत्काल उपचारका लागि लाइफलाइन अस्पतालमा लगे पनि तत्कालै मृत भएको चिकित्सकले घोषित गरेका थिए । 

उनको पोष्टमार्टम रिपोर्टबाट नयाँ तथ्य आएसँगै मृतकका बुबाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी राकेश थापाले जानकारी दिए । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको थियो । उनको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । 

पोष्टमार्टम रिपोर्टबारे प्रहरीले सबै कुरा सार्वजनिक गरेको छैन । डिएसपी थापाले फोन सम्पर्कमा भने, ‘पोष्टमार्टम रिपोर्टमा धेरै कुराहरू छन् । घाँटीको भित्री भागमा विभिन्न चोटपटक छ भनेर पनि आएको छ । शंकास्पद भएकाले नै आरोपीलाई पक्राउ गरी सम्मानित अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौं ।’

अनुसन्धानपश्चात् मात्रै कर्तव्य हो या बलात्कार पनि हो भन्ने खुल्ने प्रहरीले जनाएको छ ।