इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि अनुमानित २ अर्ब १७ करोड ४५ लाखको बजेट प्रस्तुत गरेको छ ।
उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले नगरसभामा अनुमानित बजेट पेश गरेकी हुन् । बजेट सार्वजनिक गर्दै उपमेयर गौतमले ४ वर्षे कार्यकाल उत्कृष्ट भएको दाबीसमेत गरेकी छन् ।
आगामी आर्थिक वर्षका लागि सङ्घीय समानीकरण अनुदान ३३ करोड ६५ लाख, सङ्घीय सशर्त अनुदान ४३ करोड ७० लाख, सङ्घीय समपूरक अनुदान २ करोड २९ लाख, सङ्घीय विशेष अनुदान ३ करोड ४२ लाख, प्रदेश समानीकरण अनुदान १ करोड ९९ लाख, प्रदेश सशर्त अनुदान १ करोड ६७ लाख, प्रदेश समपूरक अनुदान १ करोड, सङ्घीय राजश्व बाँडफाँड १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन ३२ करोड, आन्तरिक स्रोतबाट ४१ करोड, मर्मत सम्भार कोषबाट १ करोड २० लाख, धरौटी खाता सापटी ४ करोड, ऋण प्राप्त गर्ने ५ करोड, नगद मौज्दात परिवर्तन (अ.ल.पा) बाट २९ करोड, नगद मौज्दात गरी जम्मा २ अर्ब १७ करोड ४५ लाखको अनुमानित बजेट पेश गरेकी हुन् ।
इटहरी व्यापारिक तथा व्यावसायिक नगरी पनि हो । उद्योग, व्यापार–व्यवसायको क्षेत्रलाई बढी सुरक्षित र व्यवस्थित गर्ने आवश्यक नीति कार्यक्रम तय गरी लागू गरिनेछ । इटहरी वडा नं..९ हाटखोलामा रहेको जग्गामा शीत भण्डार सहितको आधुनिक कृषिबजारको निर्माण कार्य आगामी आर्थिक वर्षबाट प्रारम्भ गरिनेछ । जसका लागि ५ करोड ५८ लाख रकम विनियोजन भएको छ । इटहरीभित्र पूर्वधार निर्माणतर्फ १०३.८३ किलोमिटर कालोपत्रे सडक निर्माण भइसकेको उपमेयर गौतमले जनाइन् ।

त्यस्तै ६५ किलोमिटर सडक निर्माणाधीन छ । चालु आर्थिक वर्ष समाप्त हुँदा १६६.८३ किलोमिटर कालोपत्रे सडक निर्माण भइसक्ने उपमेयरको भनाइ थियो । इण्टरलकिङ टायल्स लगाएर ३४ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै १ सय ३५ किलोमिटर सडकलाई स्तरोन्नति गरिएको उपमहानगरले जनाएको छ । आरसीसी ढलान गरी २ हजार २५ मिटर सडक बनेका छन् । पूर्वाधारको क्षेत्रमा सडक निर्माण र स्तरोन्नति गरिएकोले इटहरी हिलो र धुलोमुक्त नगर घोषणा गर्दा हुने स्थितिमा पुगेको जनाइएको छ ।