धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्ष र प्रतिष्ठान पदाधिकारी बीचको वार्ता विफल भएको छ । मंगलबार दिउँसो वार्ताका क्रममा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बोलेपछि आन्दोलनरत पक्ष उपकुलपति गिरी रक्सिले मातेर वार्तामा आएको आरोप लगाएका छन् । त्यसपछि आन्दोलनकारीहरु वार्तास्थलबाट बाहिर निस्किएर पदाधिकारीहरुलाई कोठाभित्र थुनेका छन् ।
वार्ताका सहभागी प्रतिष्ठानका एक पदाधिकारीले भिसीले मादक पदार्थ सेवन गरेर आएको दाबी गरे । उनले भिसीका कारण वार्ता भाँडिएको बताए । आन्दोलनकारीहरुले भने उपकुलपति गिरीको स्वास्थ्य परिक्षण गर्नु पर्ने माग गर्दै अहिले पदाधिकारीलाई भित्र थुनेका छन् ।
प्रतिष्ठानमा अनियमितता भएको भन्दै फ्याकल्टि, विद्यार्थी, नर्स तथा चिकित्सकहरु आन्दोलनमा छन् । आन्दोलनरकारीहरुले दुई दिनयता रिले अनसन गरिरहेका छन् । उनीहरुसँग मंगलबार वार्ता सुरु भएको थियो । वार्ताका क्रममा उपकुलपतिको व्यवहार अस्वभाविक भएपछि उनी रक्सि सेवन गरेर आएको आशंका गरिएको छ । आन्दोलनरत पक्षका डा.एसपी रिमालले उपकुलपति मातेर वार्तामा आएको बताए ।