धरान । धरान सरोकार समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएका बेथितिको अन्त्यको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । 

समाजका अध्यक्ष प्रभु श्रेष्ठ र सल्लाहकार सरू श्रेष्ठले धरान उपमहानगरका नगर प्रमुख तिलक राईमार्फत् ज्ञापन पत्र बुझाएका हुन् । समाजले प्रतिष्ठानका बेथिति, भ्रष्टाचारलगायतको अन्त्यको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । प्रतिष्ठानको ऐनमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था छ भने धरान उपमहानगरपालिकाको प्रमुख सदस्य हुने व्यवस्था छ । 

उक्त पत्रको बोधार्थ नगरलाई पनि दिइएको छ । विभिन्न मागसहितको ज्ञापन पत्र बुझाइएको हो । पत्रको बोधार्थ प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्रीको कार्यालय काठमाडौं, प्रदेश १ को मुख्यमन्त्री कार्यालय विराटनगर, सामाजिक विकास मन्त्री कार्यालय प्रदेश १ विराटनगर, स्वास्थ्य सचिव कार्यालय काठमाडौंमा दिइएको छ । 

प्रतिष्ठानको स्थापना कालको सोच र लक्ष्यअनुसार हाल शाख गुम्दै गएको पत्रमा उल्लेख छ । प्रतिष्ठान दिनानुदिन बद्नाम हुँदै गएको सरोकार समाजले ठहर गरेको छ । त्यस्तै धरान नागरिक दबाब सञ्जालले सारेका मुद्दाहरूप्रति ऐक्यवद्धता रहेको पनि बताइएको छ । यता सञ्जालले पनि बीपी प्रतिष्ठानका उपकुलपतिको मंगलबारको कार्यशैलीलाई लिएर पदाधिकारीमाथि गम्भीर प्रश्न उठाएको छ ।