विराटनगर । ‘किचकिच’ सहन नसकेपछि मोरङको बेलबारी नगरपालिकामा पतीले पत्नीको हत्या गरेका छन् ।

बेलबारी नगरपालिका–७ दौलतपुरका ५६ वर्षीय अम्विका घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको कारण खुलेको हो । अम्विकाले ४८ वर्षीया पत्नी सीता घिमिरेको हत्या गरेका थिए । पत्नीको किचकिच सहन नसकेपछि मदिराको नशामा लठ्ठिएर हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानमा खुलेको छ । अम्विका दैनिकजसो मदिरा सेवन गरेर घर जाने गरेका थिए । मदिरा सेवन गरेपछि उनकी पत्नी सीताले गालीगलौज गर्ने गरेकी थिइन् । त्यही ‘किचकिच’ कै कारण योजनाबद्ध ढङ्गले हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।

यसरी भयो हत्या
दैनिक मदिरा पिउने अम्विकाले शुक्रबार साँझ नजिकको भट्टी पसलमा गएर मदिरा पिउँछन् । रात परेपछि घर जान्छन् । ‘आज पनि मदिरा पिएर आएको भन्दै सीताले अम्विकालाई गाली गर्छिन् । केही नभनी उनी सुत्छन् र शनिबार बिहानको राति २ बजे अम्विकाको निन्द्रा खुल्छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले आरोपितको बयान उद्धृत गर्दै भने, ‘गोठमा राखेको मुङ्ग्रो अम्विकाले लिएर आउँछन् र मस्त निन्द्रामा रहेकी पत्नीको कञ्चटमा पाँच पटक प्रहार गरी हत्या गरेको देखिन्छ ।’ अम्विकाले काठको मुङ्ग्रोले देब्रे कञ्चटमा पटक–पटक प्रहार गरेर शनिबार बिहानको राति २ः३० बजेतिर ओछ्यानमा सुतिरहेकी पत्नीको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

हत्यापछि लुक्न छिमेकीको गोठमा
पत्नी हत्यापछि अम्विका घरबाट निस्किएर छिमेकीको गोठमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । सीतालाई बिहान ५ बजेतिर बुहारीले ओछ्यानमा मृत फेला पारेकी थिइन् । तत्काल घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनाल नेतृत्वको टोलीले देब्रे कञ्चट फुटेर सिरानी र ब्ल्याङ्केटमा रगत लागेको तथा ओछ्यानमा घोप्टो परेको अवस्थामा सीताको शव फेला पारेको थियो ।

सिरानीमुनि कपालसमेत लागेको मुङ्ग्रो फेला परेको प्रहरीले बताएको छ । अम्विकाले सुतेको ओछ्यानबाट ब्युँझिन नपाउँदै देब्रे कञ्चटमा चार–पाँच पटक मुङ्ग्रोले प्रहार गरेर पत्नी सीताको हत्या गरेको खुलेको डिएसपी मुकारुङले बताए । प्रहरीका अनुसार मापसे गरेर शुक्रबारसाँझ घर फर्किएका अम्विकाको पत्नीसँग विवाद भएको पाइएको छ । त्यही रिसइबी साधेर बसेका उनले बिहानको राति ओछ्यानमै पत्नीको हत्या गरेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान गरिरहेको इन्स्पेक्टर खनाल नेतृत्वको टोलीले शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । खोटाङ घर भएको घिमिरे परिवार ६ वर्षअघि मात्रै बसाइँ सरेर बाहुनी आएका थिए । दुई छोरा र एक छोरीसहित आएकी सीताको परिवारले डम्बरबहादुर तामाङको घरमा बसेर जग्गा कमाउँदै आएको थियो । अम्विका भने परिवारका सदस्यसँग सम्पर्कविहीन थिए ।