विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मानव स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको छ । भाइरस संक्रमणकै कारण दिनप्रतिदिन मृत्यु हुनेको संख्या थपिंदै गएको छ । गत वर्षदेखि भाइरसको पहिलो भेरियण्ट देखिएको अहिले दोस्रो र तेस्रो चरणको भेरियण्ट समेत देखिएको खबर सार्वजनिक हुँदै आएको छ ।

कोरोना भाइरस संक्रमणबाट बचाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको सम्बन्धित निकाय, संघसंस्था, जनप्रतिनिधि सबै लागिपरेका छन् । विगतमा देशमा भएको लकडाउन, निषेधज्ञाले मानव जीवन रक्षा गर्न सफल रह्यो । राज्यले कोरोना भाइरस संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाएका छन् । प्रायः प्रत्येक स्थानीय तहमा आइसोलेसनको स्थापना भएको छ । फ्रण्टलाइनमा काम गर्नेलाई खोप सेवा प्रदान गरिएको छ । त्यसैगरी पिसिआर र एण्टीजेन परीक्षण गरिएको छ ।

khop barahakshetra blastkhabar pradip chaudhari

त्यसो त कोरोना भाइरस संक्रमणबाट बच्न निकै सजिलो उपाय पनि रहेको जानकारहरु बताउँछन् । घर बाहिर जानु परेमा सामाजिक दूरी कायम राखी मास्क, सेनिटाइजर, साबुनको प्रयोग गर्नुपर्छ । स्वास्थ्य सावधानीका उपाय अपनाए भाइरस संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् ।

बराहक्षेत्र नपा स्वास्थ्य शाखाका कोभिड संयोजक उमेश मेहताले दोस्रो चरणको कोरोना संक्रमणमा बराहक्षेत्र नपामा ९ सय ३५ जनाको एण्टिजेन परीक्षण भएको बताए । यो समाचार तयार पार्दासम्म तीन सय १४ जनाको पिसिआर परीक्षण भएको मेहताले जानकारी दिए । 

मेहताका अनुसार यहाँ फ्रण्ट लाइनमा काम गर्ने सबैलाई भ्याक्सिन लगाइएको छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले तोकेअनुसार जेष्ठ नागरिकलाई भ्याक्सिन लगाइएको छ । बराहक्षेत्रमा भाइरस संक्रमितको संख्या ६ सय एक जना रहेको तथ्यांकले देखाएको छ । निको भएकाको संख्या ३ सय ८७ छ । मृत्यु हुनेको संख्या २४ रहेको नगर स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ । 

nisangkraman blastkhabar pradip chaudhari barahakshetra

धेरैजसो संक्रमितहरु घरमै उपचाररत रहेको बताइएको छ । बराहक्षेत्र नपा ७ स्थित सप्तकोशी क्याम्पसको भवनमा ५० बेडको आइसोलेसन नगरपालिकाले स्थापना गरेको छ । 

कोरोना संक्रमण न्यूनीकरणका लागि नगरपालिकाले यथासक्य काम गरेको नगर प्रमुख निलम खनाल बताउँछन् । नगर प्रमुख खनाल स्वास्थ्यकर्मी, पत्रकारको टोलीसहित जनप्रतिनिधि कोरोना संक्रमितको घरघरमा पुगेर स्वास्थ्य लाभको कामना गर्दैगरेको देखिन्छन् । पौष्टिक आहारसँगै संक्रमितको मनोबल बढाउने काममा नगर प्रमुख लागि परेका छन् । 

‘नगरमा संक्रमण देखिए देखि नै नगर प्रमुख संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहनु भएको छ ।’ प्रेस संयोजक नवराज विष्टले भने । 

रामधुनी नपा स्वास्थ्य शाखाका नरेन्द्र पौडेलले पिसिआर र एण्टीजेन गरी चार सय ९० जनाको परीक्षण गरिएको जानकारी दिए । 

pradip chaudhari sangkrait barahakshetra blastkhabar

रामधुनीमा ३ सय १० जना कोरोना संक्रमित रहेकोमा २ सय २० जना निको भएका छन् । १२ जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । अन्य घरमै उपचारमा रहेको बताइएको छ । पौडेलका अनुसार रामधुनी नगरपालिकाले आवश्यक्ता अनुसार संक्रमितलाई एम्बुलेन्स सेवा, अक्सिजन सेवा र स्वास्थ्य परामर्श उपलब्ध गराइरहेको जानकारी दिए ।

रामधुनी नपामा वडास्तरमा कोरोना संक्रमणको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमित गाउँमा देखिएपछि वडास्तरमा परीक्षणलाई तीव्रता दिइएको छ ।

रामधुनी नपा ९ का वडाध्यक्ष घनश्याम चौधरीलेले वडावडामा कोरोना परीक्षण गरिएको जानकारी दिए । 

दुहबी नगरपालिकामा दोस्रो चरणमा ३ सय ३५ जना कोरोना भाइरसका संक्रमित भएको नगर स्वास्थ्य शाखाका कोभिड व्यवस्थापन स्वास्थ्य सहसंयोजक उचितनारायण साहले जानकारी दिए । 

दुहबीमा कोरोना संक्रमितका लागि नगरको वडा नम्बर ८ मा ४५ बेडको आइसोलेसन समेत स्थापना गरिएको छ । दुहबी नपा स्वास्थ्य शाखाले दिएको तथ्यांकमा कोरोना भाइरस संक्रमित २ सय ६५ जना निको भएका छन् । सात जनाको मृत्यु भएको छ । 

sangkramit ko ghardailo Nilam khanal mayor barahakshetra

त्यहाँ सञ्चालित आइसोलेसनमा एशियन थाइ फुड्सले खाना र शारडा ग्रुपले औषधिको व्यवस्थापन गरिदिएको छ । 

स्वास्थ्य शाखाबाट पिसिआर १ सय १८ र एन्टिजेन ३६ जनाको परीक्षण गरिएकोमा क्रमशः १३ र १५ जनामा कोरोना संक्रमण देखिएको थियो । 

दुहबी नगरले फ्रण्टलाइनमा काम गर्ने र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको कोरोनाको खोप ५५ वर्षभन्दा माथिका तोकिएको उमेर समूहका व्यक्तिलाई लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोना संक्रमित भएका व्यक्ति स्वास्थ्य मापदण्डमा रही आवश्यक सहयोग र उचित व्यवहार गर्नु पर्ने स्वास्थकर्मीहरुको भनाइ छ । दुहबी स्वास्थ्य शाखाका सहसंयोजक साह कोरोना भाइरस संक्रमितलाई उपचार र स्वास्थ्य परामर्श दिनु पर्ने सुझाव दिन्छन् । उनले भाइरस संक्रमितको मनोबल उच्च राख्न स्वास्थ्य मापदण्डसहित सरल व्यवहार गर्नु पर्नेमा जोड दिए ।

sangkramit pradip chaudhari barahakshetra blastkhabar

सेभ द अर्थ सुनसरीले कोरोना भाइरस फैलिन नदिन मास्क, साबुन, सेनिटाइजलगायत विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । अर्थका अध्यक्ष पुष्प भट्टराईले कोरोना भाइरस महामारीको समयमा सबैले स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताउँछन् । पछिल्लो समयमा घरमै बसी कोरोना संक्रमितको उपचार गराइरहेकाहरुलाई परामर्शमा समय दिइरहेको बराहक्षेत्र स्वास्थ्य शाखाका अहेब जितेश थापा बताउँछन् । आफू संक्रमितको परीक्षणमा दिनहुँ खटिए पनि फोनमा समेत परामर्श दिने गरेको बताउँछन् । 

कोरोना भाइरस फैलिन नदिन कोरोना संक्रमित र सर्वसाधारण सबैले आआफ्नो ठाउँबाट चेतनामूलक भूमिका निर्वाह गर्न सके केही दिनमै कोरोना भाइरस हराउने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

सुनसरी जिल्लाका १२ स्थानीय तहहरुमा कोरोना संक्रमणका विरुद्ध खोप कार्यक्रम गरिएको जिल्ला स्वास्थ्य कार्यालय बताउँछ । संक्रमणको पहिचान गरी यसको निराकरण गर्नका लागि सबै स्थानीय तहमा एन्टिजेन परीक्षण र पिसिआर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य कार्यालयको भनाइ छ । सुनसरीमा संक्रमण देखिएका सबैको पहुँचमा परीक्षणको दायरा पुगिसकेकाले संक्रमणको शङ्का लागेमा स्वास्थ्य परीक्षण गराउन सबै सर्वसाधारणलाई जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ ।

barahakshetra isolation pradip chaudhari blastkhabar