प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले सरकारले प्रदेशका १४ जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाइ आठ देखि दश जनासम्म दक्ष चिकित्सक सहित स्वास्थ्यकर्मीको व्यवस्था गर्ने बताएकी छन् ।

प्रदेश नं १ प्रदेश सभाको आठांै तथा बजेट अधिवेशनको १९ औं आजको वैठकमा विनियोजन विधेयक २०७८ मा निर्दिष्ट गरी मन्त्रालयसँग सम्वन्धित शीर्षकमाथि विभिन्न सदस्यहरुले  राख्नु भएको प्रश्नको जवाफ दिने क्रममा सो धारणा राख्नु भएको हो । उनले हिमाली, पहाडी तथा तराइ क्षेत्रका जिल्लामा काम गर्ने  चिकित्सक एवं स्वास्थ्यकर्मीलाई क्रमशः ३००, २५० र २०० प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्री राईले प्रदेशका जनताको स्वास्थ्यप्रति सरकार सचेत रहेको छ भन्दै क्रमशः रुपमा कोभीड–१९ खोप लगाउँदै जाने बताए । बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले प्रदेशमा खेर जाने दूधको व्यवस्थापनका लागि वैकल्पिक व्यवस्थाका लागि दुग्ध सहकारी संस्थालाई सहयोग गरेको बताए । विनियोजन विधेयक २०७८ मा निर्दिष्ट  गरी मन्त्रालयसँग सम्वन्धित विभिन्न शीर्षकमाथि भएको छलफलको क्रममा प्रदेश  सदस्हरुले उठाउनु भएको विभिन्न प्रश्न एवं जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

कृषि उत्पादनको बजारीकरणका लागि स्थानीय निकाय, सहकारीमार्फत कृषि औजार, शित भण्डार लगायतका कार्य भैरहेको उनले जानकारी दिए । यस अघि मन्त्रालयसँग सम्वन्धित शीर्षकमाथि भएको छलफलमा इन्द्रबहादुर आङवो,उमिता विश्वकर्मा, चुमनारायण सरदार,जयराम यादव,झलकबहादुर मगर,पूर्णप्रसाद राजवंशी,विमल कार्की,शिवनारायण गनगाई र लछुमन तिवारीले भाग लिएका थिए ।

यसैगरी आज भएको शून्य समयमा कूलप्रसाद साम्वा,सरिता थापा, सीतादेवी थेवे, सौभाग्वतीदेवी राई किराँत, खुनु लाङवा लिम्बुले सामाजिक विकास मन्त्रालय सम्वन्धित जिज्ञासा राखेकी थिइा् । अर्को बैठक बिहीबार  दिनको ११ः३० बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिए ।