विराटनगर / प्रदेश नम्बर–१ मा केही दिनयता कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।
यस्तै, आइतबार प्रदेश–१ मा यो साता सबैभन्दा धेरै ७९२ जना संक्रमणमुक्त भएका थिए ।
त्यो दिन ३१२ जना कोरोना संक्रमित थपिए । शनिबार ५८० जना संक्रमणमुक्त भए भने २७१ जना संक्रमित थपिएका थिए ।
कोसी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादवले भने, ‘फेरि, पछिल्ला दिनमा नयाँ संक्रमित थपिने क्रम बढेको छ ।’ प्रदेश–१ मा झापा, मोरङ र सुनसरीमा संक्रमितको संख्या बढी छ ।

पछिल्लो समय दैनिक संक्रमित निको हुने हाराहारीमै संक्रमित थपिन थालेका छन् । नयाँ संक्रमित थपिने संख्या बढ्न थाल्नुले चिन्ता थपिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
बुधबार (हिजो) प्रदेश–१ मा ४६३ जना संक्रमणमुक्त भएका थिए । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष थिए । सोही दिन ४४३ जना कोरोना संक्रमित थपिए ।
सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार ६३९ जना संक्रमणमुक्त भएका थिए । त्यो दिन ४०३ जना नयाँ संक्रमित थपिए ।