झापा/ नेकपा (एमाले) बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँको आज कार दुर्घटनामा निधन भएको छ । उनी आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार भद्रपुर–९ चन्द्रगढीस्थित मेची लोकमार्गमा रहेको देवकोटाका शालिकमा बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । चिकित्सकका अनुसार ४५ वर्षीय प्रसाईँको आजै निधन भएको छ । दुर्घटनामा उनको टाउको, बायाँ खुट्टा र शरीरको भित्री भागमा चोट लागेको चिकित्सकले बताएका छन् । उनकी पत्नी पवित्रा महतरा बिर्तामोड नगरपालिकाका उपप्रमुख छीन् । मेची प्रादेशिक अस्पतालमा शव परीक्षण जाँचपछि उनको पार्थिव शरीर कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।