विराटनगर पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति हत्या भएको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो। 

मादक पदार्थ सेवन (मापसे) गरेका आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले धारिलो हतियारले प्रहार गरेर उनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । 

‘अति नै गम्भीर अवस्थामा प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको हो,’ उनले भने, ‘अस्पताल पु¥याएको केही बेरमै चिकित्सकले मृत घोषित गरिदिए।’ एसपी जिसीका अनुसार मृतकलाई लागेको चोटका आधारमा घटनामा धारिलो हतियार प्रयोग भएको पुष्टि भएपनि कुन हतियार हो भन्ने यकिन भएको छैन ।

‘हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छैन। खोजी गरिरहेका छौँ,’ उनले भने, ‘घटनास्थलमा सिसा र कुर्सीहरु फुटेका एवं भाँचिएका छन्। घटनास्थल वरपर रगत लतपतिएको छ ।’उनले दाजुको हत्यामा संलग्न साजनलाई पक्राउ गरिसकिएको बताए । उनले सोकेसको सिसाले प्रहार गरेको प्रहरीलाई बताएका छन् । दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो ।

उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद र झगडा भएपछि राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ । 

मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए । आफ्नी आमा बिरामी रहेको थाहा पाएका भोला तालिम सकिएपछि केही दिनअघि मात्रै विराटनगरस्थित घरमा पुगेको राष्ट्रिय अनुसन्धान खोटाङका प्रमुख हीरा भट्टराईले बताए । उनका अनुसार भोला खोटाङ फर्किने तयारीमा थिए । तर कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण कार्यालय फर्कन सम्भव नभएको भट्टराईको भनाइ छ । 

गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुयाईए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताए । उनका अनुसार हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो । 

हत्यामा संलग्न साजन आफैँ घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । साजनले मापसे गरेर घटना गराएको पाइएको छ । प्रहरीका अनुसार उनी लागुऔषधका दुव्र्यसनी पनि भएको खुलेको छ । विगतमा पनि विभिन्न अपराधिक घटनामा संलग्न साजनलाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो ।