पारिवारिक विवादलाई लिएर विराटनगरमा आफ्नै दाजुको हत्या भाइले गरेको खुलेको छ । 

विराटनगर महानगरपालिका – ५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको हत्या आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले शुक्रबार राती घरमा चक्कु प्रहार गरी हत्या गरेको खुलेको हो । 

लागूऔषध दुव्र्यसनी रहेका साजनले मादक पदार्थ सेवन (मापसे) गरेर धारिलो हतियारले प्रहार गरेर दाजुको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । 

उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद र झगडा भएपछि राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ । 

गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पु¥याइए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताए । उनका अनुसार हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो । 

दाजुभाइको राति झगडा, सुत्ने बेलामा चक्कुले हानेर हत्या

पारिवारिक स्रोतका अनुसार साजन लागूऔषध दुव्र्यसनी हुन् । शुक्रबार राति मदिरा सेवन गरेर घर आएका थिए । चार तलाको घर भए पनि उनी भुइँतलाको बाँया कोठामा बस्दै आएका थिए । उनी मदिरा सेवन गरेर करिब ९ बजे घर आए । विवाहित उनको केही महिना अगाडि श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । 

शुक्रबार राति घरमा आउँदा सम्बन्धबिच्छेद गरेका श्रीमतीलाई देखेपछि विवाद गर्न थाले । नशालु पदार्थ खाएर साजनले दैनिक जसो श्रीमतीलाई कुटपिट गरेपछि आजित भएर सम्बन्धविच्छेद भइसकेको परिवारले जनाएको छ । 

‘सधैँ मादक पदार्थ र लागूऔषध सेवन गरेर घरमा श्रीमतीलाई कुटपिट गर्ने र यातना दिने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘झै–झगडा र अत्याचार सहन नसकेपछि श्रीमतीले सम्बन्धविच्छेद गरेको पाइएको छ ।’ 

उनीसँग सम्बन्धविच्छेद भए पनि श्रीमती भने साजनका परिवारकै सदस्यको संरक्षणमा थिइन् । आफूसँग नाता टुटाइसकेकी श्रीमतीलाई घरमै संरक्षण दिएर राखिएको भन्दै साजनले विवाद गरेर परिवारमा झै–झगडा सुरू गरे । 

‘साजनले कोठामा भएको फर्निचरको सामान तोडफोड गरेपछि भाउजु र दाजुले सम्झाइ बुझाइ गरेका थिए । अटेरी भएर कोठाको सरसमान तोडफोड गरेपछि भोलाले भाइलाई कुटपिट गरेका रहेछन् । त्यसपछि भोला बाटो तिर गए । माहोल शान्त भयो होला भनेर भोला सुत्न आफ्नो कोठामा छिरेर बसेका मात्र के थिए । साजनले चक्कुले दाजुको घाँटी, हात र टाउकामा प्रहार गरे । भोला त्यही ढले,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । 

दाजुको हत्यागरेपछि बाथरूममा साजन

दाजु हत्या गरेपछि पनि साजन घरमै बसेका थिए । दाजुलाई धारिलो हतियार प्रहार गरेपछि उनी भुइँतलादेखि माथिल्लो तलामा बाथरुमा गएर बसेका थिए । वडा प्रहरी कार्यालय विराटनगर ‘क’  र मोरङ प्रहरीबाट खटिएको टोलीले साजनलाई घरभित्र रहेको बाथरुमदेखि पक्राउ गरेर शुक्रबार राति लगेको प्रहरीले जनाएको छ । 

लागूऔषधका दुव्र्यसनी रहेका साजनलाई  विगतमा पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो । घटनाको गम्भीर ढंगले अनुसन्धान सुरु गरिएको एसपी जिसीले बताए । दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान थालिने उनको भनाइ छ ।

को हुनु भोला सिंह ?

विराटनगर ५ पृथ्वीचोक घर भएका ४२ वर्षीय भोलासिंह राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । 

अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए । आफ्नी आमा बिरामी रहेको थाहा पाएका भोला तालिम सकिएपछि वैशाखमा विराटनगरस्थित घरमा आएका थिए । उनी राष्ट्रिय अनुसन्धानमा जागिर खाएको एक दशक बढी भएको छ । उनका श्रीमती र दुई छोरा छन् । जेठा १५ वर्ष र कान्छो छोरा ११ वर्षका रहेका छन् ।