धरान उपमहानगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ३ करोड ६४ लाखको बजेटसँगै नीति, कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकसमेत पारित गरेको छ ।

हिजोको बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक (आय) पारित गरेको थियो । आज नगरसभा बैठकले विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न नगर सभामा अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक नरेशकुमार इवारमले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पारित बजेटबारे प्रतिक्रिया दिंदै कार्यपालिका प्रवक्ता मणिराम राईले कार्यपालिका बैठकले गरेको निर्णयलाई नगरसभाबाट पारित गरेको बताए । उनले केही नगरसभा सदस्यले बजेट केन्द्रीकृत रहेको टिप्पणी गरेको जानकारी दिए । 

गत असार १० गते उद्घाटन भएको धरान उपमहानगरपालिकाको नवौं नगरसभा विवादका कारण स्थगित भएको थियो । 

दोस्रो पटक असार १९ गते बस्ने भनिए पनि विवादकै कारण बैठक स्थगित भएको थियो । बजेट सिलिङको विवादमा सहमति जुटेपछि हिजो शुक्रबारदेखि सुनसरी उद्योग वाणिज्य संघमा बसेको सभा सम्पन्न भएको छ ।