प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारको वन मन्त्रालयले कोशीटापुको जग्गा निजी कम्पनीलाई लिजमा दिने निर्णय गरेर गलत गरेको बताएका छन् । 

मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा समग्र बजेटका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा कोशीटापुको जग्गा प्रकरणमा प्रदेश सरकारको संलग्नता नभएको भन्दै निर्णय खारेज गर्नुपर्ने बताएका हुन् । 

‘कोशीटापुको जग्गा लिजको कुरा सदनमा उठेको छ । यसबारे सरकारको ध्यानाकर्षण भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘जमीनको उपयोग कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । नेपाल सरकारको वन मन्त्रालयले जे निर्णय गरेको छ त्यो गलत छ । 

म यही रोष्टमबाट भन्न चाहन्छु त्यो निर्णय गलत छ सच्याउनु पर्छ । भूमि समस्या समाधान आयोग गठन भएको छ । त्यसबाट समाधान खोजिनु पर्छ । त्यसको उपयोगको लागि अध्ययन गरेर बढ्नु पर्छ ।’ 

निजी क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्न कार्यालय

मुख्यमन्त्री राईले फजुल खर्च रोक्ने विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै करोडौंको गाडी किन्ने कुरामा धेरै उत्साहित हुन नहुने बताए । आफूले चढ्दै आएको गाडी कति मूल्यको हो भन्ने जानकारी नभएको पनि उनले बताए । 

‘मैले सिंचाइको २१ वर्ष पुरानो गाडी चढिरहेको थिएँ पछि सेतो गाडी आएछ त्यही चढिरहेको छु तर कति मूल्यको हो मलाई थाहा छैन,’ मुख्यमन्त्री राईले भने । सरकारले फजुल खर्च गरेको भन्दै सांसदहरुले विरोध गरेपछि उनले सदनमा जवाफ दिएका हुन् ।

मुख्यमन्त्री राईले काठमाण्डौमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेको विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्न कार्यालय खोलेको जवाफ दिए । 

मुख्यमन्त्री राईले भने ‘मलाई व्यक्तिगत चाहिएर त्यो खोलेको होइन । काम गर्न र भेटघाट गर्न जहाँसुकै पनि मलाइ सहजै हुन्छ । तर, प्रदेशको एउटा सम्पर्क कार्यालय राजधानीमा रहोस् भनेर १८ महिना अगाडि खोलिएको हो । निजी क्षेत्र आकर्षित गर्नुपर्ने, वैदेशिक सहयोगका लागि पहल गर्नुपर्ने, बैठकहरु बस्नु पर्ने भएकोले सम्पर्क कार्यालय स्थापना गरिएको हो । प्रदेशलाई संस्थागत गर्नुपर्छ भनेर कार्यालय स्थापना गरेका हौं ।’ 

मुख्यमन्त्री राईले काठमाण्डौको सम्पर्क कार्यालयको भाडा अहिलकति महंगो भएको स्वीकार गर्दै पछि मात्र त्यसको विषयमा आफूलाई जानकारी भएको र करार अवधि सकिएकोले अब कार्यालय सार्ने वा बन्द गर्ने भन्ने निर्णय हुने बताए ।