इटहरीस्थित माया घरमा आश्रित ५० जनामा ‘कोभिड–१९’ परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण देखिएको छ ।
इटहरी उपमहानगरपालिकाले आयोजना गरेको स्वास्थ्य परीक्षणमा लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड–१९ होम आइसोलेन सपोर्ट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ सङ्क्रमित मध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता लक्षण देखिएको छ ।
उनीहरुलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर, माक्सलगायत स्वास्थ्य सामग्रीहरु उपमेयर गौतमले प्रदान गरिन् । सबै संक्रमितलाई इटहरी अस्पतालले हेल्थ मोनिटरिङ गरिरहेको छ ।

इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखा, इटहरी अस्पताल र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिले संक्रमित स्थल मायाघरको अनुगमन निरीक्षण गरी जनस्वास्थ्य अवस्था मूल्याङ्कन समेत गरिएको छ । मायाघरकी सचिव सुभद्रा प्याकुरेलले माया घरमा कोरोना संक्रमण देखिएपछि संक्रमित र संक्रमण नभएकालाई छुटटा–छुट्टै ठाउँमा राखी सावधानी अपनाइएको छ । माया घरमा नयाँ व्यक्तिलाई ल्याउन भने केही समय बन्द गरिएको उनले जानकारी दिइन् ।
मायाघरले बेवारिसे, मानसिक सन्तुलत ठीक नभएका पीडित व्यक्तिहरुलाई आश्रय दिंदै आएको छ ।