पतञ्जली युवा समिति सङ्खुवासभालाई खाँदबारी नगरपालिकाले योग अभ्यासमा सहयोग पुग्ने सामग्रीहरु सहयोग हस्तान्तरण गरेको छ ।
नगरपालिकाले आइतबार एक कार्यक्रम गर्दै ५० वटा ट्र्याकसुट, ५० वटा म्याट्रेस र एक थान साउण्ड सिस्टम सहयोग गरेको हो ।
खाँदबारी नगरपालिका १ घिमिरे गाउँस्थित कृष्ण प्रणामी बहुउद्देश्य भवनमा विगत ३ वर्ष यता नियमित योग अभ्यास सञ्चालन गर्दै आइरहेको युवा समितिलाई अझ बढी हौसला प्रदान गर्न खाँदबारी नगरपालिकाले १ लाख १८ हजार बराबरको योग सामग्री सहयोग गरेको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।
मानव शरीरमा योगबाटै निको हुने अधिकांश रोग हुन्छन् । यसका लागि योग प्रशिक्षकसँग अन्तर्क्रिया गरेर नियमित रूपमा योग गर्न जरुरी हुन्छ । त्यसैले आधुनिक समाजमा योगको महत्व बढ्दै गएकोले शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढी हुने भएकाले सकारात्मक गुणको विकास होस् भन्ने उद्देश्यका साथ सामग्री सहयोग गरेको प्रमुख खतिवडाको भनाइ छ ।

उक्त सामग्री नियमित योग गर्दा प्रयोग गरिने पतञ्जली युवा समिति संखुवासभाका अध्यक्ष क्षितिज बरालले बताए ।
पतञ्जली युवा समितिले स्वास्थ्यका लागि योग भन्ने नारालाई आत्मसात् गर्दै खाँदबारी नगरपालिकाभित्र सञ्चालित आईसोलेसनमा समेत १ महिना योग अभ्यास सञ्चालन गरेको थियो । एड्भान्स क्लब मानेभञ्याङको आयोजना तथा पतञ्जली युवा समिति संखुवासभाको प्राविधिक सहयोगमा जिल्ला अस्पताल खाँदबारीद्वारा खाँदबारी नगरपालिका वडा न–३ को कृषि बजारमा सञ्चालित आइसोलेसन र खाँदबारी–९ को तुम्लिङटारमा सञ्चालित आइसोलेसनमा योग अभ्यास सञ्चालन गरेको पतञ्जली युवा समिति सङ्खुुवासभाका अध्यक्ष बरालले जानकारी दिए । आइसोलसनमा रहेका बिरामीहरुको श्वासप्रश्वासको अभ्यास र बिरामीहरुको मनोबल उच्च राख्ने उद्देश्यले योग अभ्यास सञ्चालन गरेको उनको भनाइ छ ।