सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज गोरखापत्र संस्थानको विज्ञ सल्लाहकारमा दीपक ज्ञवाली र कानूनी सल्लाहकारमा कृष्णप्रसाद आङदम्बेलाई नियुक्त गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री बसन्तकुमार नेम्वाङले उनीहरुलाई नियुक्ति पत्र दिएका हुन् । 

ज्ञवाली रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाका बासिन्दा हुनुहुन्छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकका आधारमा उनहरुलाई गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा १ बमोजिम नियुक्त गरिएको हो । ज्ञवालीले संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङसम्बन्धी सल्लाहकारका रुपमा जिम्मेवारी निभाउने उल्लेख छ । 

त्यस्तै कानूनी सल्लाहकारमा नियुक्त हुनुभएका आङदम्बे पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका–१ का बासिन्दा हुन् । उनी नेपाल बार एशोसिएसनका पूर्वकेन्द्रीय सदस्य थिए । उनले २३ वर्षदेखि प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै आएका छन् । उनीहरु दुवै जनालाई मन्त्रालयले दुई वर्षका लागि नियुक्त गरेको हो । 

नियुक्ति पत्र दिँदै मन्त्री नेम्वाङले ज्ञवाली र आङदम्बेको अनुभव तथा सिर्जनात्मक क्षमता देशकै पुरानो संस्था गोरखापत्र संस्थानलाई उन्नत र समृद्ध बनाउन प्रयोग हुने सरकारले विश्वास गरेको बताए । कार्यक्रममा मन्त्रालयका सचिव हरिकुमार बस्याल उपस्थित थिए ।