शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माप्रति सेयर बजार उत्साहति बन्न सकेन । मंगलबार अर्थमन्त्रीमा नियुक्त भएर शर्माले आज पदभर ग्रहण गरेको थिए । शर्माले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको दिन सेयर बजार भने स्थिर रह्यो ।
आज कारोबार रकममा गोर्खाज फाइनान्सले लिड गरेको छ । गोर्खाज फाइनान्सको २९ करोड ४७ लाख ६९ हजारको कारोबार हुँदा सेन्चुरी कमर्सियल बैंकको २२ करोड ३३ लाख ७२ हजार र हिमालयन डिस्टिलरीको १९ करोड ७२ लाख ५७ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएका १८० कम्पनीमध्ये ८१ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ८७ कम्पनीको घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । हिमालयन पावर पार्टन कम्पनीको सेयरमूल्य सवार्धिक ८.१ प्रतिशतले वृद्धि हुँदा नेपाल फाइनान्सको ७.७१ प्रतिशत र कालिका पावरको सेयरमूल्य ७.११ प्रतिशतले बढेको छ ।
यता सुर्योदय लघुवित्तको सेयरमूल्य सवार्धिक २.०१ प्रतिशतले गिरावट हुँदा प्रभु इन्स्योरेन्सको १.९८ प्रतिशत र महुलि लघुवित्तको सेयरमूल्य १.७८ प्रतिशतले घटेको छ ।

लोडसेडिङ हटाउन भूमिका खेलेका पूर्व उर्जामन्त्री शर्माको काँधमा अर्थमन्त्रालय जिम्मेवारी आएको छ । शर्माले अर्थमन्त्रीको जिम्मेवारी ग्रहण गरेको दिन आज सेयर बजार परिसूचक नेप्से १.०१ अंकले वृद्धि भएर २८७२.०५ अंकमा बन्द भएको छ ।
नेप्सेमा १ अंकको सामान्य वृद्धि भएपनि ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा कम सेयरमूल्य भएका हाइड्रोपावर कम्पनीको सेयर खरिद गर्न लगानीकर्ता झुमिँदा खरिदविक्री भएको सेयर संख्या भने बढेको छ । ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर खरिदविक्री हुँदा ५ करोड ६५ लाख ४५ लाख ७६ हजारको कारोबार भएको छ ।
आज नेप्सेसमा हाड्रोपावर र वित्त कम्पनी उपसूचक उल्लेख्य रुपमा बढेको छ । हाइड्रोपावर उपसूचक सवार्धिक ७४.९२ अंकले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ३५.८९ अंकले बढेको छ ।
यता निर्जीवन बिमा उपसूचक सवार्धिक ८२.०५ प्रतिशतले गिरावट हुँदा जीवन बिमा उपसूचक ३२.६२ प्रतिशत, लघुवित्त उपसूचक १९.६७ प्रतिशत र बैंकिङ उपसूचक ६.२२ प्रतिशतले बढेको छ ।