भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक जना पेस्तोल र लागूऔषधसहित पक्राउ परेका छन् ।
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार भएका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई सशस्त्र प्रहरीले पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर १६ हुलास चोक दक्षिणगेट नजिकदेखि पप्पुलाई बुधबार राती साढे १० बजे पक्राउ गरेको हो ।
प्रहरीले पप्पुको साथदेखि एक थान पेस्तोल र अवैध लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक पोखरेलले पेस्तोल र लागूऔषधसहित सीमा नाका जङ्गे सीमा स्तम्भ १८० नम्बर नजिक डम्पिङ साइटको बाटो भएर नेपाल आउने क्रममा पप्पुलाई पक्राउ गरेको जानकारी दिए ।

‘पप्पुले पेस्तोल र अवैध लागूऔषध नेपालतिर ल्याउन निक्कै चलाखी गरेको देखियो,’ सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले भने, ‘हुलिया बदलेर कवाडी संकलन गर्न हिंड्ने गरेका रहेछन्, शंका लागेपछि चेकजाँच गरिएको थियो, उनले बोकेको प्लाष्टिकको झोलादेखि पेस्तोल र लागूऔषध बरामद भयो ।’
सशस्त्र प्रहरीले कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागूऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ ।
‘पप्पु भारतमा विभिन्न अपराध गरी फरार अभियुक्त हुन् । भारतीय प्रहरीले समेत पप्पुको खोजी कार्य तीव्र बनाएको थियो । उनले भारतमा व्यापारीलाई धम्काउनेदेखि चन्दा असुलीसम्मको अपराधिक धन्दा चलाएर प्रहरीमा परेको उजुरी धेरै रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।