संखुवासभा / खाँदबारी नगरपालिका वडा नम्बर ९ तुम्लिङटारको कुमाल बस्तिमा १ जना पुरुष व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । हत्या गरेर फरार व्यक्तिको पहिचान भईसकेको र जसको खोजी कार्य भई रहेको छ । 

प्यरालाईसिस भई शरिर अपाङ्ग रहेका ४७ बर्षिय लक्ष्मण कुमाललाई धारिलो हतियार प्रहार गरि हत्या गरेको हो । निधार, टाउको, गर्धन तथा शरिरका बिभिन्न ठाँउमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुभेश अधिकारीले जानकारी दिए । बुधबार साँझ ७ः०० बजेतिर घरैमा मृत्यू भएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । खबर पाउनसाथ विमानस्थल सुरक्षा प्रहरी पोष्टका प्रहरीहरु खटिएका थिए । 

घटनामा शंकास्पद देखिएका २ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा मृतकका आफन्तबाट सनाखत हुँदा संलग्न नदेखिएकाले अनुसन्धान पश्चात छोडिएको छ । घटनामा संलग्न व्यक्ति पहिचान भईसकेको र निज घटना पश्चात फरार भएकोले खोजतलास गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । घटना स्थल सुरक्षित राखि तत्काल थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा अनुसन्धान टोली खटिएको छ । घटनास्थलको मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न लासलाई जिल्ला अस्पतालमा पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाईएको छ ।