धरान । विराट कृषि फार्मले धरानमा बुधबारबाट माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
मोरङस्थित फार्मले सुनसरी र मोरङमा १० वटा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । धरानको भानुचोकनजिकै खोलिएको केन्द्रको उद्घाटन सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले गरे ।
फार्मका सञ्चालक विष्णुप्रसाद आचार्यका अनुसार मोरङ र सुनसरीमा १० वटा बिक्री केन्द्र खोलिएको छ । फार्मले दैनिक एक हजार केजी माछा बिक्री गर्दै आएको कम्पनीका अर्का सञ्चालक मोहन तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार सुनसरीमा ६ वटा र मोरङमा ४ वटा बिक्री केन्द्र छन् । रहु, पङ्गास, कमन, भ्याकुर, बिग्रेडलगायत जातका माछा बिक्री गर्दै आएको जनाएको छ ।

संयुक्त राष्ट्र खाद्य एवम् कृषि सङ्गठनका अनुसार नेपालमा सन् १९६६ मा ३ टन माछा उत्पादन हुन्थ्यो भने सन् २०१९ सम्म आइपुग्दा ७१ हजार २ सय ५२ टन पुगेको छ । देशको आन्तरिक उत्पादनले मात्र धान्न नसकेकाले वार्षिक करिब १० हजार टन माछा अझै आयातसमेत हुने गरेको छ ।