धरान । नेपाली फुटबल टिमलाई फाइनलसम्म पुर्याउन मुख्य भूमिका खेलेका नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ ।
आज साफ च्याम्पियनसिपको फाइनल खेल हुँदै छ । राति पौने ९ बजेदेखि हुन लागेको प्रतियोगितामा मुख्य प्रशिक्षक रहेका अलमुताइरीलाई प्रतिबन्ध लगाइएको हो । नियमानुसार रातो कार्ड पाउँदा मात्रै अफिसियलले अर्को खेल गुमाउने नियम छ । तर उनीमाथि पहेँलो कार्ड पाएकै भरमा भारतविरुद्ध हुने फाइनल खेलमा प्रतिबन्ध लगाइएको हो । त्यस्तै नेपालका खेलाडी अञ्जन विष्टले पनि आजको फाइनल खेल गुमाउँदै छन् ।
उनले दुई खेलमा लगातार पहेँलो कार्ड पाएका कारण पनि मैदानबाहिर रहने छन् । आलमुताइरीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । प्रतिबन्ध लगाइएको विषयमा प्रशिक्षक आलमुताइरीले असन्तुष्टि जाहेर गरहेका छन् । उनले शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गरी उक्त निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् ।
नेपाल २८ वर्षमा पहिलोपटक फाइनलमा पुगेको छ । भारतले हालसम्म ७ पटक साफ उपाधि उचालिसकेको छ । नेपालका लागि यसपटक जित्नसक्ने सम्भावना प्रवल रहेको छ । माल्दिम्भको राजधानी मालेमा राति पौने ९ बजेदेखि भारत र नेपाल उपाधिका लागि भिडन्त गर्दै छन् ।