भद्रपुर । लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको छ । बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
अविरल हावापानीले मुख्य धानबालीमा क्षति पुगेकोले किसानलाई तत्काल राहतको घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
बेमौसमी बर्षाको कारणले कृषक रोईरहेकोले तीन तहका सरकारले अविलम्ब कृषकलाई वडा स्तरबाट क्षतिको सहि मुल्याङ्कन गरि उचित राहत उपलब्ध गराउन कचनकवलका कृषक नवराज भट्टराइले अनुरोध गरेका छन् । बिपत्तिमा कृषकलाई साथ सहयोग नगर्ने हो भने कृषक कृषि पेशाबाट बिमुख हुन बाध्य हुने उनको भनाइ छ । बेला छदै पिडामा रहेका कृषकलाई साथ सहयोग नगर्ने हो भने खाद्यन्यमा आत्मानिर्भर बन्ने योजना नारामा मात्र सिमित हुने उनको भनाइ छ ।
झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले असमयको वर्षा र बतासका कारण कृषकको मुख्य बाली धानमा व्यापक क्षति पुगेकोले अप्ठ्यारोमा परेका कृषकहरूका लागि तत्काल राहतको घोषणा गर्न माग गरेका छन् ।उनले त्यसतर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले अविरल बर्षाका कारण धानबालीलगायत अन्य बालीहरु नष्ट हुँदा किसानहरु मारमा परेको भन्दै तीनै तहका स्थानीय, प्रदेश र सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले पीडित किसानलाई राहत प्याकेजको ब्यवस्था गर्न माग गरेका छन् ।
त्यस्तै कुमार सिटौलाले स्थानीय सरकार,प्रदेश सरकार,केन्द्र सरकार सबैको ध्यान त्यतातिर जाओस् भन्दै बर्षभरि खाने अन्नको दुराबस्था भएकाले राहतको प्याकेज ल्याउने कुरामा सबै तहको सरकारको एकमत हुनुपर्नेमा जोड दिएका छन् । अगाडि पाकेको र काटिसकेको धानमा पुरै क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए । वर्षा जारी रहेकोले क्षतिको अन्तिम विवरण आइनसकेपनि ४० प्रतिशत धानबालीमा क्षति पुगेको उनको भनाइ छ । क्षतिको विवरण आउने क्रम जारी रहेको उनले जनाए ।
बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ ।