बेलबारी । महामारीका कारण मोफसलमा खेलकुदका गतिविधि ठप्प रहेका बेला डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्ग स्थित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
उद्घाटन खेलमा रोलिङ क्लब झापा र च्यासल क्लबबिच प्रतिस्पर्धा हुनेछ । लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा प्रतियोगिता आयोजनाका लागि तयारी तीव्र पारिएको छ । आयोजकले शुक्रबार बेलबारी स्थित पत्रकार सम्मेलनमा गोल्डकप कात्तिक १८ गतेसम्म सञ्चालन गरिने जानकारी दिएको छ ।
क्लबका अध्यक्ष एवं आयोजक समितिका संयोजक विक्रम वान्तवा राईले बेलबारी नगरपालिकाको सहयोगमा र बुद्ध एयरको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न हुने बताए । ‘बेलबारीको गौरवसँग जोडिएको गोल्डकप थुप्रै चुनौतीको सामाना गर्दै आयोजना गरिँदै छ,’ उनले भने, ‘खेल प्रेमी सबैको साथ सहयोगमा मोफसलमा हुने प्रतियोगिताले बेलबारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको छ ।’
कोरोना महामारीको असरले गर्दा यसअघिका २ वर्ष प्रतियोगितालाई निरन्तरता दिन नसकिएको संयोजक राईले बताए । प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने गोल्डकपका आर्थिक समिति संयोजक राजेश बस्नेतले जानकारी दिए । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११र११ हजार रुपैयाँ नगद पुरस्कार पाउने उनको भनाइ छ ।
प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष एवं गोल्डकप आयोजक समितिका संयोजक राईका अनुसार प्रतियोगितामा ४० लाख रुपैयाँ खर्च र ४५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। प्रतियोगिताबाट नाफा भएको रकम भने खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने घोषणा क्लबले गरेको छ ।