धरान । अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबा)को आयोजनामा सर्बियाको बेलग्रेडमा भोलि सोमबारबाट सुरु हुने ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’मा नेपालबाट चार खेलाडी भिड्दै छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी मुक्केबाजहरु सनिल शाही (६७ केजी) र भुपेन्द्र थापा मगर (६३.५ केजी) सहित रविन थापा (४८ केजी) र पुरन राई (५७ केजी) प्रतिष्पर्धाका लागि सर्बिया पुगेका छन् । उनीहरुसँगै आईबा २ स्टार कोचहरु प्रकाश थापा मगर र किशोर लिम्बु पनि सर्बिया पुगेका छन् । त्यस्तै अफिसियल्समा सङ्घका सदस्यहरु मानबहादुर भण्डारी र प्रनिर अधिकारी छन् । आईबाको ७५ औं बार्षिकोत्सवका लागि आईबाको निमन्त्रणामा नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले समेत टोलिमा सहभागी छन् । उनीहरुलाई गत बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिदाई गरेका थिए ।
अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने प्रतियोगीताका लागि खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त छनोटको आ–आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडीमध्येबाट चार खेलाडी प्रतियोगीताका लागि छनोट गरिएको हो ।
विश्वका १ सय ५ देशका १३ तौल समूहमा गरी जम्मा ६ सय ५० खेलाडी सहभागी हुने प्रतियोगीतामा प्रत्येक तौल समूहमा स्वर्णपदक विजेताले एक लाख डलर, रजत पदक विजेताले ५० हजार डलर र कास्यपदक विजेता दुई जनाले २५ हजार डलरका दरले नगद सहित मेडल, प्रमाणपत्र र च्याम्पियनसिप वेल्ट पाउने व्यवस्था रहेको नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।