नेपाल बार एशोसियसनको अवरोधका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत पुगेका छन् ।
सर्वोच्च अदालत र बार परिसरमा कानून व्यवसायीहरूले आन्दोलनका बिच उच्च सुरक्षाकासाथ जबरा एक नम्बर गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् ।
मुख्य गेटमा धर्नामा बसेका कानुन व्यावसायीलाई एक नम्बर गेटमा प्रहरीले धर्ना दिन रोक लगाएको भएपनि प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ ।
जबराको राजीनामा माग गर्दै आन्दोलित बनेको बारले उनलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । जबराले आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् । उनले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् ।
उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् ।