धरान । हङकङ नेपाली महासंघका पदाधिकारीहरु यतिवेला ११ औं महाधिवेशनको चटारोमा छन् । महासंघले हङकङ बस्ने सम्पुर्ण नेपाली (आइडी) बाहक नेपालीहरुको छाता संगठन महासंघको महाधिवेशन २८ नोभेम्बरमा याउमातेई कम्युनिटी सेन्टरमा हुने आइतबार जानकारी दिइएको छ । 

महाधिवेशनले तीनबर्षे कार्यकालकालागि पदाधिकारीहरु निर्वाचित गर्ने अध्यक्ष टंक रानाले बताए । उनले महाधिवेशनबारे जानकारी दिदै भने, ‘अहिले हामी पुर्व अध्यक्षहरु, सल्लाहकारहरु र वर्तमान कार्यसमितिका पदाधिकारी बसेर महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेका छौं ।’ उनकाअनुसार हङकङमा सन १९९७ यता आइडीमा बसोबास गर्ने नेपालीहरुका संख्या ३० हजार बढी छ । तिनै नेपालीहरुको साझा छाता संगठनको रुपमा स्थापित महासंघको हङबङमा नयां सुरुक्षा कानून लागु गरेयता यो पहिलो महाधिवेशन हो । 

महाधिवेशनले कस्लाई अध्यक्षमा निर्वाचित गर्ने हो त्यो भने दुइसाता पर्खिनु पर्ने छ । वर्तमान अध्यक्ष रानाले दोहो¥याउने हुन् वा निवर्तमान अध्यक्ष रिता गुरुङ वा त्यहीको चिनिया समाज र हङकङ सरकार बुझेको अरु नै नेतृत्व आउने हो त्यो भने महाधिवेशन नै पर्खिनु पर्ने छ । 

राना हङकङमा चिनिया समाजमा पनि स्थापित व्याबसायी हुन् भने रिता गुरुङ समाजसेवीको रुपमा हङकङ सरकारबाट सम्मानित र हाल अल्पसंख्यक नेपाली समुदाय वीच संचालित विभिन्न परियोजनाका संयोजक हुन् । दुवै स्थानीय चिनिया भाषा बोल्न पोख्त रहेका छन् । हङकङ सरकारले नेपालीहरुको हकमा महासंघलाई औपचारिकरुपमा चिन्ने भएकाले त्यसको पदाधिकारी बन्न अरु पनि अध्यक्ष पदका आकांक्षीहरु रहेको बताइएको छ ।  

रानाले भने, ‘हङकङमा बसोबास गर्ने अल्पसंख्यक नेपाली समुदायको सामाजिक, शैक्षिक र स्वास्थ्य तथा आर्थिक सांस्कृतिक क्षेत्रमा देखिएका समस्या पहिचान गरेर महासंघले हङकङ सरकारसंग समन्वय गर्दै समस्या समाधान गर्दै आएको छ । यस्तो संस्थाको महाधिवेशनका लागि अहिले हामी एकजुट भएर लागिपरेका छौं । जुन संस्थामा आउने पदाधिकारी हङकङ सरकारलाई ‘कन्भिन्स’ गर्न सक्ने हुनुपर्छ ।’

व्रिटिशले करिव चार सय भन्दा बढी टापुनै टापु भएको हङकङलाई लामो समयसम्म शासन गरेपछि सन १९९७ मा हस्तान्तरण गरेपछि हङकङमा जन्मको आधारमा नेपालीहरु हङकङ आइडीमा बस्न थालेका हुन् । आधिकारिक रुपमा चिनको विषेश प्रशासनिक क्षेत्रको रुपमा चिनिएको हङकङ चिनको पर्ल नदि डेल्टा र साउथ चाइना सि (दक्षिण चिन सागर)को कुनामा रहेको चिन अधिनस्थ मुलुकमा नेपालीहरुको छाता संगठन महासंघ सन १९९८ मा हङकङमा मनिकिरात वान्तवाको अध्यक्षतामा पहिलोपटक हङकङ नेपाली महासंघ दर्ता गरिएको थियो । पछिल्लो समयमा महासंघले सरकारी प्रतिनिधिहरु, मन्त्री र सांसदहरुसंग नजिक भएर हङकङमा बस्ने नेपालीहरुका समस्यालाई अवगत गराउदै समाधानका लागि पहल गरिदिन अनुरोध गर्दै आएको अध्यक्ष टंक रानाले बताए । उनले भने, ‘हङकङमा बस्ने नेपालीको मृत्यु भएका बेला जमिनमा पुर्नकालागि लागि सिमेट्री (समाधी स्थल)देखि नेपालीहरुकालागि सामुदायिक क्लव भवन पनि माग गरिरहेका छौं । चिनिया भाषामा दख्खल नभएकाले सरकारी स्तरको रोजगारी पाउनु मुस्किल हुनाले त्यता तिर पनि ध्यानाकर्षण गराउदै आएका छौं ।’ 

महासंघ नेपालीहरुकालागि लोककल्याणकारी संस्था भएकाले हङकङ सरकारले पछिल्लो समयमा प्रति महिना एक हङकङ डलरमात्र तिर्ने शर्तमा महासंघको गतिविधि संचालन गर्न कउलुन जिल्लाको मंकोकमा कार्यालय भवन उपलव्ध गराउनु पनि ठूलै उपलव्धीको रुपमा हेरिएको अध्यक्ष रानाले बताए । उनकाअनुसार महासंघमार्फत नै सरकारले खेलकुदका लागि सामाग्री दिने, चिनिया भाषा प्रशिक्षण दिलाउने, वृद्धवृद्धालाई निशुल्क यात्रा र घुमाउने, इमिग्रेसनमा अनुवादक उपलव्ध गराउने गरेको छ । 

महासंघका पुर्वअध्यक्ष प्रदीप थापाकाअनुसार महासंघमा जातिय, क्षेत्रीय, वर्गीय र लिङ्गीय आधारमा स्थापना भएका नेपालीहरुको संस्थाका दुइजनाका दरले सहभागी भएका प्रतिनिधिहरुले महाधिवेशनमा भाग लिन पाउने प्रावधान विधान रहेको छ । महासंघ स्थापना भएयता मनिकिरात वान्तवा पछि भोलानाथ थापा, भगवान चाम्लिङ, गणेश इजम, हेजेन राई, हेम लिम्बु, प्रदीप थापा (दुइकार्यकाल) रिता गुरुङले नेतृत्व गरिसकेका छन् ।