धनकुटा । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले छिन्ताङ हत्याकाण्डको जिम्मा अब काङ्ग्रेसले लिनुपर्ने बताएका छन् ।
सोमबार ४३ औं शहिद दिवसको अवसर पारेर धनकुटाको छिन्ताङमा नेकपा एमाले धनकुटाले आयोजना गरेको शहिद स्मृति सभालाई बोल्दै ओलीले यस्तो वताएका हुन् । उनले सुर्यबहादुर थापाको विरासतको डोको बोकेर उनका छोरा सुनिलबहादुर थापा काङ्ग्रेसमा प्रवेश गरेकाले अब ०३६ सालको छिन्ताङ हत्याकाण्डको जिम्मा पनि डोकोसंगै काङग्रेसको हुने बताए । ‘पल्लो गाउँका मान्छे देशको प्रधानमन्त्री भएको वेला वल्ला गाउँका जनताको हत्या भयो ।’ उनले कार्यक्रममा भने, ‘अब धनकुटामा नेपाली काग्रेसलाई सबैले चिन्ने बेला आएको छ ।’

ओलीले बहुमतको सरकार फुटाउने अनि काङ्ग्रेसको दैलोमा मन्त्री चाहियो भनेर बिरालो जसरी ढुक्न जानेहरुलाई काङ्ग्रेस पार्टीमा लाग्न सुझाव समेत दिए । नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा सम्पन्न शहिद स्मृति सभामा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, शंकर पोख्रेल, पुर्वगृहमन्त्री एवं स्थायी कमीटी सदस्य रामवहादुर थापा वादल, एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाँई, नेता राजेन्द्र गौतम, माओवादीबाट एमालेमा प्रवेश गरेका झापाका दुर्गा प्रसाई लगायत उपस्थिति रहेको थियो । सो कार्यक्रमबाट धनकुटा नगरपालिका ९ का वडाध्यक्ष संदिप रायमाझी, महालक्ष्मी न.पा.वडा नं.३ का वडाध्यक्ष भरत थापा, जनमोर्चाका केन्द्रिय सदस्य कोपिला शंकर लगायत जिल्लाको सातै तहबाट विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेका नव प्रवेशीलाई अध्यक्ष ओलीले आविर जात्रा गरेर स्वागत गरेका थिए ।