भद्रपुर ।  कलवलगुरी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को १५ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

छविलाल सुवेदीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुवेदीले साङ्गठनिक प्रतिवेदन पेश गर्दै कोभिड महामारीका कारण लक्ष्य अनुसारको काम गर्न नसकिएको जानकारी गराएका थिए । 

संस्थाले चालु आर्थिक वर्षमा ४२ लाख २३ हजार १ सय १७ रुपैयाँ आम्दानी गरी ४ लाख ७९ हजार ६ सय २८ रुपैयाँ नाफा  आर्जन गरेको प्रतिवेदनमा मार्फत उल्लेख गरिएको थियो । 

कार्यक्रममा होमनाथ दाहाल र ठूमा कुमारीलाई जेष्ठ नागरिक सम्मान, विना लम्साल भट्टराई उत्कृष्ट बचत र सन्तोष राईलाई उत्कृष्ट ऋणीमा सम्मान गरिएको थियो ।  त्यसै गरी उत्कृष्ट सन्तती पुरस्कारबाट कक्षा १२ का आयुष न्यौपाने र भिषजा खतिवडालाई सम्मान गरिएको थियो ।  

उपाध्यक्ष नारायण प्रसाद चौलागाँईले स्वागत तथा सल्लाहकार सदस्य कल्पना  नेपालले सञ्चालन गरेको कार्यक्रममा ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारीका उपाध्यक्ष धनकुमारी खरेल, वडा नम्बर १० का वडाध्यक्ष टेक बहादुर खड्का ,सृजनात्मक कृषि सहकारीका अध्यक्ष विष्णु प्रसाद काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

सभाले आगामी वर्षका लागि नयाँ कार्यसमितिको समेत चयन गर्ने भएको छ । साथै कलवल गुरी शान्ति कृषक र सृजनात्मक कृषि सहकारी एकीकरणका लागि सम्झौता भइसकेको समेत जनाइएको छ ।