लक्ष्मीमार्ग । सिल्भर र पित्तल गालेर देवीदेवताका आकार दिन माहिर मुस्लिम समुदायका मैहवुव खान हिन्दु समुदायले पुजा गर्ने देवी देवताको मुर्ति बनाउन व्यस्त छन् ।
आफू १२ वर्षको हुँदै देखि सिल्भर र पित्तल गालेर विभिन्न देवीदेवताको आकार दिन सक्ने भएका उनले यसलाई पेशाकै रुपमा अँगालेका छन् । अहिले नेपालका विभिन्न भागमा पुगेर हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने देवी देवताको मुर्ति बनाउँदै बिक्री गरिरहेका हुन्छन् । खानले राधा, विष्णु, शिव, कृष्ण, गणेश, सरस्वती, दुर्गा, लक्ष्मी, हनुमान लगायतका भगवानका मुर्ति बनाउँछन् ।
‘मैले सानै उमेरमा धातुका सामनहरु बनाउन सिकें, पुराना धातुजन्य सामाग्री गालेर ग्राहकको मागअनुसार देवीदेवताको मुर्ति बनाउने गरेको खान बताउँछन् । भगवानका प्रतिमाको आकार दिन आरनमा पित्तल र सिल्भर गाल्दै गरेको अवस्थामा बेलबारी बजारमा भेटिएका खानको सीप हेर्नेहरुको भिड नै हुनेगरेको छ ।
केही हिन्दु धर्मावलम्बी उनीहरुले बनाएको मुर्ति पूजा पाठ गर्नका लागि भन्दै खरिद गरेर लग्दै थिए । मुस्लिमको हातबाट बनेका मुर्तिहरु हिन्दुले पूजा गर्न लैजानुले समाजमा सकारात्मक सन्देश दिने गरेको सामाजिक अगुवाहरुको भनाइ छ ।
खानले रेडबुल, क्यान वियरका बट्टा, पुराना कुकर, कित्ली समेतलाई गालेर भगवानको प्रतिमा बनाउन सकिने बताए । ‘कामनै नलाग्ने अवस्था पुगेपछि फ्यालिएका सिल्भर र पित्तलका वस्तुहरुलाई गालेर मुर्ति बनाउन सकिन्छ,’ उनले भने, ‘प्रयोग विहीन बनेको भन्दै जथाभावि फ्यालिने वस्तुलाई सदुपयोग गर्ने यो एउटा उपाय र तरिका पनि हो ।’ उनले एउटा मुर्ति बनाउन डेढ घण्टा सम्म लाग्ने जानकारी दिए । ‘खाएर फ्यालिएका रेडबुलका २० वटा बट्टालाई गालेर एउटा सानो मुर्ति बनाउन सकिन्छ,’ उनले भने, ‘ठूलो आकारको बनाउन परे ६० वटा सम्म लाग्छ ।’
एउटा मुर्ति बनाए बापत आफूले दुई सय ५० देखि छ सय रुपैयाँ सम्म लिने गरेको सुनाए । उनले दैनिक दुई हजार रुपैयाँ भन्दा बढी कमाई हुने गरेको बताए । सिल्भर र पित्तललाई गालेर कराई, दिउरे, ताप्के, डाडु र पन्युको आकार पनि दिन सकिने उनको भनाइ छ ।
‘सुरुसुरुमा मुस्लिम भएर हिन्दुको मुर्ति बनाउँछ भनेर धेरै आलोचना पनि भयो । मलाई यो पेशा नगर्न धेरै अवरोध र विरोध गर्ने काम पनि भयो,’ उनले भने, ‘जे जस्तो भए पनि सबै धर्म एउटै र समान हुन् भन्ने लाग्छ । त्यही भएर मैले हिन्दु धर्मावलम्बीले मान्ने र पूज्ने भगवाननको मुर्ति बनाउने कला सिकेर त्यसैलाई निरन्तरता दिइरहेको हुँ ।’
त्यही कला र पेशाका कारण अहिले आफू र आफ्नो परिवारलाई धानिरहेको उनको भनाइ छ । अलीले आफूले बनाउने देवी देवताका प्रतिमा हिन्दु धर्मावलम्बीहरुले पूजा पाठ गर्नका लागि प्रयोग गर्ने गरेको सुनाए । ‘मुस्लिमले बनाएको मुर्ति लैजादैंनौ भनेर कसैले भनेका छैनन्,’ उनले भने, ‘बरु खरिद गरेर लैजानेहरु राम्रो मुर्ति बनाएको भनेर प्रशंसा गर्ने गर्छन ।’