विजयपुर । विदेशी अनुदानमा आएको सामान बिक्री गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक डा. रोशन कलवारलाई मेडिकल काउन्सिलले कारबाही घटाउँदै उन्मुक्ति दिएको छ ।
मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले डा. कलवारको गल्ती पुष्टि गर्दै २ वर्ष कारबाही गर्न सिफारिस गरे पनि मेडिकल एसोसिएसन, राजनीतिक दबाव र प्रतिष्ठान प्रशासनको लबिङका कारण काउन्सिलले १ महिना विभागीय प्रमुखको मातहातमा काम गराउने भन्दै उन्मुक्ति दिएको हो । डा.कलवार मेडिकल एसोसिएसन धरान सुनसरीका अध्यक्षसमेत हुन् ।
२०७८ पुस २७ गते सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साहको खुट्टाको शल्यक्रियामा कुन रड लगाउने भन्ने विषयमा डा. कलवारको समूहमा विवाद उत्पन्न भएको थियो । विवादका कारणले ८ घण्टा बढी समय लगाएर शल्यक्रिया गरिएको थियो । उक्त घटनाको विषयमा छानबिन गरी कारबाहीको माग गर्दै प्रतिष्ठान प्रशासनले काउन्सिलमा उजुरी दिएको थियो ।
उजुरी परेपछि घट्नाको छानबिन गर्न काउन्सिलका आचार–संहिता तथा स्वास्थ्य समिति संयोजक डा. हरिहर वस्तीको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको थियो । छानबिन समितिमा काउन्सिलका सदस्य डा. कालुसिंह खत्री र हाडजोर्नी विशेषज्ञ डा. गणेश गुरुङ सदस्य रहेका थिए । उक्त छानबिन समितिको सिफारिस उल्टाउँदै १ महिना विभागीय प्रमुखको माताहतमा काम गराउने भन्दै उन्मुक्ति दिइएको हो ।

काउन्सिल स्रोतका अनुसार समितिले डा. कलवारले शल्यक्रिया कक्षमा चिकित्सकीय मूल्य, मान्यता र आचरणको न्यूनतम् मापदण्ड पालना नगरेकाले २ वर्ष कारबाही गर्न सिफारिस गरेको थियो । डा.कलवारलाई निलम्बन गर्नुपर्छ भन्ने सदस्यहरूको बहुमत भए पनि एसोसिएसनको दबावमा दुई पटक बैठक स्थगित गरी ७ चैतको बैठकबाट १ महिना विभागीय प्रमुखको मातहतमा बसेर काम गर्ने गरी सचेत गराउने अन्तिम निर्णय गरेको बतायो ।
स्रोतले भन्यो, ‘छानबिन समितिले २ वर्ष सिफारिस गरेको थियो । पुर्ण बैठकले ३ महिना निलम्बन गर्ने निर्णय ग¥यो ।’ त्यसपछि ३ महिना निलम्बन किन नगर्ने भनेर डा. कलवारलाई स्पष्टीकरण सोधियो । जवाफ आएको थिएन । पछि १ महिना विभागीय प्रमुखको मातहतमा काम गर्ने भन्ने निर्णय भयो ।’
स्रोतले नेपाल मेडिकल एसोसिएसनको दबावका कारणले काउन्सिलले उन्मुक्ति दिएको बताएको छ । डा. कलवार छानबिन चलिरहेकै समयमा मेडिकल एसोसिएसनको सुनसरी (धरान) अध्यक्षमा निर्वाचित भएका थिए ।
डा. कलवारलाई उन्मुक्ति दिनका लागि प्रतिष्ठानका पदाधिकारीसहित प्रशासनले नै पहल गरेको बुझिएको छ । स्रोतका अनुसार डा.कलवारलाई कारबाहीदेखि उन्मुक्ति दिनका लागि प्रतिष्ठान प्रशासनले पत्र नै पठाएर दबाव दिएको थियो । बीपी प्रतिष्ठानका निर्देशक डा. गौरीशङ्कर साहले भने एउटालाई मात्रै होइन, सबैलाई कारबाही गर भन्दै पत्र पठाएको स्वीकारेका छन् । उनले भने, ‘गर्ने भए सबैलाई गर, नगर्ने भए सबैलाई नगर भनेर पत्र पठाएको हो ।’
यता छानबिन समितिले भने प्रतिष्ठानको विभागले रोक लगाएको अमेरिकी साइन रड डा. कलवारलाई रोक लगाएको हुँदा अन्य चिकित्सकले नलगाउन मात्रै आग्रह गरेका कारणले कारबाही गर्नु नपर्ने बताएको थियो । मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले पहिले तोकिएको सजायका विषयमा स्पष्टीकरण पेश गर्न दिँदा आएको जवाफ र विगतका नजिरहरूका आधारमा सजाय पुनरावलोकन गरिएको बताए ।
डा. कलवारले अमेरिकी दातृसंस्थाले निःशुल्क दिएको साइन नेल बिक्री गर्ने गरेको पुष्टि नै भएको थियो । उनले निःशुल्क रड बिक्री गरेको पीडितहरूले बताएका थिए । प्रहरीमा उजुरी दिएपछि डा. कलवारले पीडितहरूको पैसा फिर्ता दिई माफीसमेत मागेका थिए । बिक्री गरेको पुष्टि भएपछि प्रतिष्ठानले डा. कलवारलाई साइन नेल प्रयोग गर्न रोक लगाएको थियो ।
पुस २७ गते डा. कलवारले रोक लगाएको साइन नेल आफै झोलामा बोकेर ल्याई जबरजस्ती प्रयोग गर्ने प्रयास गरेका थिए । उनकै नेतृत्वमा रहेका अन्य चिकित्सकहरूले साइन नेल प्रयोगमा रोक लगाइएकाले प्रयोग नगर्न आग्रह गर्दा विवाद उत्पन्न भएको थियो ।