भद्रपुर । मुलुक सङ्घीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित झापाका १५ वटै पालिकामा निर्वाचन अधिकृतहरु समेतको टुङ्गो लागेको छ । 

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकासहित १५ वटा स्थानीय तहका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । 

जिल्ला निर्वाचन कार्यालय झापाका सुचना अधिकारी प्रेमप्रसाद निरौलाका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी गिरीराज गौतमलाई प्रदान गरिएको छ । गौतम जिल्ला अदालत झापाका प्रमुख न्यायाधीस हुन् । भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी समेत मुख्य निर्वाचन अधिकृत गौतमले नै सम्हाल्ने छन्  । 

यसैगरी मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी वेदराज फुयाँललाई दिइएको छ । विर्तामोड नगरपालिकमा डम्बरप्रसाद काफ्ले, कनकाई नगरपालिकामा दिपक कोइराला, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल, अर्जुनधार नगरपालिकामा लोकबहादुर कट्वाल, गौरादह नगरपालिकामा विदरुकुमार कार्कीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ भने  दमक नगरपालिकामा केशवप्रसाल पन्तलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ७ वटा गाउँपालिकामा समेत निर्वाचन अधिकृत तोकि सकिएको छ । प्रकाश गौतमलाई कमल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने, गौरीगञ्ज गाउँपालिकाको निर्वाचन अधिकृतको नेतृत्व भेषराज कोइरालाले पाएका छन् । पुष्करराज प्रसाईले बाह्दशी गाउँपालिका, मानबहादुर घिमिरेले झापा गाउँपालिका, डम्मरुप्रसाद निरौलाले बुद्घशान्ति गाउँपालिका, नारदप्रसाद भट्टराईले हल्दीबारी गाउँपालिका र वीरेन्द्रबहादुर बस्नेतले कचनकवल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पुरा गर्ने छन् ।

पहिलो स्थानीय तहको निर्वाचनमा दुई—दुईजना महिला निर्वाचन अधिकृत पाएको झापाका पालिकाहरुले यो पटक एकजना पनि महिला निर्वाचन अधिकृत प्राप्त गर्न सकेनन् ।

२०७४ साल बैशाख ३१ गते भएको पहिलो स्थानीय तहको चुनावका लागि जिल्लाकै जनसङ्ख्या र भुगोलका आधारमा सवैभन्दा ठूलो मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी इन्दिरा शर्मा र गौरादह नगरपालिकाको निर्वाचन अधिकृत सकुन्तला कार्कीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

मुख्यः निर्वाचन अधिकृत गौतमले अन्य निर्वाचन केन्द्रमा खटिएका अधिकृतसंग समेत समन्वय गर्ने जनाए । भद्रपुर नगरपालिका भएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ भद्रपुरमा रहने छ । १४ जना निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा स्थापना हुने निर्वाचन कार्यालयले झापाले जनाएको छ ।

निर्वाचन अधिकृतसंगै सहायक निर्वाचन अधिकृत, कम्प्युटर प्राविधिक, नायव सुब्बा, खरिदार, चालक र लेखापाल समेत रहने छन् । दैनिक कार्य सम्पादन गर्नका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा विहीबार स्थापना गरिने छ ।