मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट ६ महिनापछि हुने चुनावमा दुई चार लाख कार्यकर्ता रिझाउने गरी ल्याइएको बताएका छन् । 

बैठककाे आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी झाले बजेट वितरणमुखी  भएकाे भन्दै  तराईमा आरसनिकरहित स्वच्छ पानी खुवाउने तथा तराई क्षेत्रमा सिँचाइ गर्न ठोस कार्यक्रम पनि बजेटमा नरहेको बताएका छन् । उनले भने ‘बजेट वितरणमुखी छ । ६ महिनापछि हुने चुनावमा दुई चार लाख कार्यकर्ता रिझाउने गरी ल्याइएको छ।’ 

उनले  शिक्षा र स्वास्थ्यका लागि स्थानीय तहका छुट्याइएको बजेटले भौतिक पूर्वाधारका लागि पर्याप्त नहुने बताउँदै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाने वातावरण बनाउन सक्ने कार्यक्रम पनि नरहेको बताए । ‘जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाँदैनन्,’ उनले भने, करोडौँ खर्चेर पढेका चिकित्सक जिल्ला अस्पताल जाने वातावरण बनाउन सकेको छैन ।’

१५ प्रतिशत तलब वृद्धिले महंंगीअनुसार तल्ला कर्मचारीलाई राहत दिन नसक्ने उनको दाबी छ ।