धरान । आफ्नै दललाई हराउन भूमिका खेलेको आरोपमा सोलुखुम्बुको सोताङ गाउँपालिकाका निर्वाचित दुई सदस्यलाई दुव्र्यवहार गरी कालोमोसो दलिदिएका छन् ।
सोताङ गाउँपालिका–२ का वडासदस्य दुर्गाप्रसाद राई र ४ नम्बर वडाका सन्देश तामाङलाई कालोमोसो दलिदिएका हुन् । साथै जुत्ताको माला पनि लगाई दुव्र्यवहार गरेका छन् । उनीहरू एमालेबाट निर्वाचित वडासदस्य हुन् । सोताङ गाउँपालिकामा गठबन्धन दलको १३ मत र एमालेको १३ मत रहेको थियो ।
तर, दुई जना सदस्यले काङ्ग्रेसबाट उठेका उम्मेदवारलाई मत दिएका कारण कार्यपालिका सदस्यमा काङ्ग्रेसको बहुमत पुगेको छ । कालोमोसोको घटनालाई नेकपा (एमाले) जिल्ला कमिटीले ‘अप्रिय घटना’ भनेको छ । एमाले जिल्ला अध्यक्ष डुफ्फकुमार बास्तोलाले ‘अप्रिय र निन्दनीय घटना’ भएको बताए । ‘एक खालको अप्रिय घटना भयो’ उनले फोनसम्पर्कमा भने, ‘अन्तरघात गर्नेलाई पार्टीले कारबाही गथ्र्यो ।’
कार्यपालिका सदस्यमा उम्मेदवारी दिएकाहरू आक्रोसित बन्दै कालोमोसो दलिदिएको अध्यक्ष बास्तोलाले बताए । पार्टीले यस घटनामा संलग्नहरूलाई जिल्ला कमिटीको बैठक बसेर गलत भएको विषयमा ‘आत्मालोचना’ गर्न लगाइने उनले बताए । यस घटनामा एमालेका वडा सदस्यमाथि रकमको चलखेल भएकोसम्म आरोप लागेको छ ।

कार्यपालिका सदस्यमा जिताउनका लागि २५ हजार रुपैयाँ ‘लेनदेन’ गर्नेसम्मको सहमतिअनुसार ५ हजार रुपैयाँ लिएको भन्नेसम्म सूचना आएको अध्यक्ष बास्तोलाले बताए । ‘राईलाई ५ हजार रुपैयाँ दिइसकेको रहेछ, अरू त्यही दिन बेलुका दिने भन्ने भएको रहेछ’ उनले भने, ‘तामाङले चाहिँ ज्यान मार्ने धम्की दियो, त्यसो भएर मत दिएको भन्छ ।’
यो विषय हालसम्म प्रहरीमा उजुरी परेको छैन । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी सुनिलजङ साहले घटनाको विषयमा जानकारी भए पनि उजुरी नआएको बताए । उनले भने, ‘जाहेरी आयो भने कानून बमोजिम कारबाही हुन्छ । अहिलेसम्म उजुरी परेको छैन ।’
घटनापश्चात् पीडितहरू इलाका प्रहरी कार्यालय सोताङमा पुगेका थिए । पीडितहरूले असुरक्षित महसुस गरेपछि प्रहरीले उनीहरूलाई केही समय सुरक्षा दिएको डिएसपी साहले बताए । उनले आफ्नै पार्टीबीचको विवाद भएकाले पनि हालसम्म उजुरी नपरेको हुनसक्ने बताए । उनका अनुसार दुव्र्यवहार गर्नेहरू पनि को को हुन् भन्ने खुलेको छैन । घटना गराउनमा पाँचजनाको भूमिका रहेको बताइन्छ । मत ‘क्रस’ भएका कारण काङ्ग्रेसका बलुकुबेर नाछिरिङ र उत्तम नाछिरिङ निर्वाचित बनेका थिए ।