विराटनगर । विराटनगर महानगरपालिका–५ गणेश मार्गमा झार नहटाई ढलानको तयारी गरेपछि स्थानीयले विरोध गरेका छन् । झारमाथिबाट सडक ढलान गर्न लागेपछि स्थानीयले विरोध जनाएका हुन् । यहाँका स्थानीयले विरोध गरेपछि बिछ्याएको रड हटाएर झार निकाल्न सुरु गरेका छन् ।
झारमाथिबाट रड बिछ्याएर ढलान सुरु गर्न लागेपछि विराटनगर–५ की उषा आचार्य खड्काले भिडियो खिचेर सामाजिक सञ्जालमा हालेकी थिइन् । उक्त भिडियो भाइरल भयो । उषाले सामाजिक सञ्जालमा झारमाथिबाट रड बिछ्याएर ढलानको तयारी गरेको भडियो हालेपछि गणेश मार्गमा जनप्रतिनिधि र प्राविधिकसहितको टोली मङ्गलबार दिउँसो पुगेको थियो ।
विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले तत्काल झार हटाएर ढलान गर्न निर्देशन दिएका छन् । ‘गणेश मार्गमा निर्माण हुन लागेको सडक ढलानको विषयमा गुनासो आएपछि त्यहाँ पुगेको थिएँ । झार उम्रिएको सडकमै माथिबाट रड बिछ्याएर ढलानको तयारी गर्न लागेका रहेछन्’ वडाध्यक्ष न्यौपानेले भने, ‘निर्माण गर्नेलाई तत्काल सडकमा उम्रिएको झार हटाएर गुणस्तरीय ढलान गर्न निर्देशन दिएको छु ।’
सडकको झार हटाएर सडकमा गुणस्तरीय ढलान नगरे भुक्तानी रोक्का गरिदिने उनले चेतावनी दिएका छन् । ‘जबसम्म गुणस्तरीय सडक निर्माण हुँदैन । हामी भुक्तानीको लागि सिफारिस दिने छैनौं’ उनले भने, ‘प्राविधिकले गुणस्तरीय ढलान भएको ल्याव परीक्षणबाट प्रमाणित गरेपछि मात्र भुक्तानीको लागि सिफारिस गरिदिनेछु ।’ उनले वडाभित्र भइरहेका विकास निर्माणका काममा खबरदारी गर्न पनि वडाबासीहरूलाई आग्रह गरेका छन् ।

विराटनगर महानगरपालिकाको साइट हेर्ने सव–इन्जिनियर अजयकुमार गुप्ताले झारमाथिबाट रड बिछ्याएर ढलान गर्दा टिकाउ नहुने बताए । ‘यसरी झारमाथिबाट रड बिछ्याएको पाइएपछि हामीले तत्काल हटाउन भनेका छौं’ सव–इन्जिनियर गुप्ताले भने, ‘बिछ्याएको रड हटाएर पहिला झार फालेर क्लिन बनाएपछि मात्र रड बिछ्याएर ढलान गर्न सुझाव दिएका छौं ।’ ढलान गर्नुभन्दा अगाडि विराटनगर महानगरपालिकाको प्राविधिकले अनुगमन गरेपछि मात्र निर्माण अगाडि बढाउने उनले बताए । ‘रड बिछ्याएपछि हामी अनुगमन गर्नेछौं’ उनले भने, ‘झार हटाएर क्लिन गरेपछि मात्र ढलान गर्न हामी निर्देशन दिन्छौं ।’
तीन लाख ५० हजार रुपैयाँ लागतमा गणेश मार्गमा ५० मिटर सडक ढलान हुन लागेको हो । पारिजात मार्ग, शान्तिनगर टोल दक्षिण नाला र गणेशमार्ग सडक ढलान गर्नको लागि पारिजात गणेश शान्तिनगर निर्माण उपभोक्ता समिति गठन भएको छ । उक्त उपभोक्ता समितिले छुट्टाछुट्टै तीन योजना १४ लाख ९५ हजार रुपैयाँको रहेको छ । जसमध्ये पारिजात मार्गको ३९ मिटर रिटेनिङ वाल र १ सय ७५ मिटर नाला निर्माणको लागि ५ लाख ७५ हजार रुपैयाँ बजेट रहेको छ ।
यसैगरी शान्ति नगर टोलको ९५ मिटरको डे«न निर्माणमा ५ लाख ७५ हजार बजेट विनियोजन भएको थियो । उक्त योजनामा उपभोक्ताको २० प्रतिशत लगानी रहेको छ । डे«न र नाला निर्माणको काममा विवाद नभए पनि गणेश मार्गको सडक ढलानको क्रममा लापरबाही गर्न खोजेपछि स्थानीयले खबरदारी गरेका हुन् । उपभोक्ता समितिले सडक ढलान कार्यको जिम्मा ठेकेदार नूर महम्मदलाई दिएको छ । ठेकेदारको लापरबाहीले झारमाथिबाटै रड बिछ्याएर ढलान गर्न खोजेका थिए । तर, स्थानीयको विरोधपछि झार हटाउन सुरु गरेका छन् । ठेकेदार नूर महम्मदले कामदारहरूको कमजोरीको कारण झारमाथिबाट रड बिछ्याएको स्वीकार गरेका छन् । ‘अब रड हटाई सडकको पूरै झार हटाएर मात्र ढलान गर्नेछौं’–उनले भने ।
पारिजात मार्ग, शान्तिनगर टोल दक्षिण नाला र गणेशमार्ग सडक ढलान कार्य २०७९ वैशाख ९ गते सम्पन्न गर्न २०७८ चैत १० गते सम्झौता भएको थियो । तोकिएको मितिमा निर्माण कार्य सम्पन्न नभएपछि यही जेठ मसान्तसम्म म्याद थप गरिएको छ । पारिजात गणेश शान्तिनगर निर्माण उपभोक्ता समितिको अध्यक्षमा अरुण पासवान, सचिव शम्भुप्रसाद पाल, कोषाध्यक्ष प्रतिमा ठाकुर र सदस्यहरू आसमा खातुन, दिलिपकुमार राय, कौसिलादेवी राय र भरत गिरी रहेका छन् । उपभोक्ता समितिका सदस्य भरत गिरीले झार हटाएर गुणस्तरीय सडक ढलान गर्न लागिप रेको बताए । ‘काम गर्नेको असवाधानीको कारणले झार नहटाई रड बिछ्याएको रहेछ’ उनले भने, ‘झार हटाएपछि रड बिछ्याएर मात्र सडक ढलान गर्नेछौं ।’