धरान । चक्रवर्ती ब्याज (मिटरब्याज) बाट पीडित बनेका सप्तरी बोधेवर्साइन र खडग नगरपालिकाका किसानहरू यतिबेला कानूनी उपचारको खोजीमा दैनिक भौतारिरहेका छन् ।
खेतीपाती छाडेर यतिबेला साहु सप्तरी खडग नगरपालिका–७ घर भई हाल धरान–१९ बस्दै आएका रामदेव साहु तेलीलाई कारबाही गर्न माग गर्दै सप्तरी–धरानको चक्कर काटिरहेका हुन् । इलाका प्रहरी कार्यालय कल्याणपुरमा ९ जना पीडितले साहुविरुद्ध २०७८ फागुन १० गते लिखित निवेदन दिएका थिए ।
प्रहरी कार्यालयले निवेदनउपर कारबाही गर्दै २०७९ जेठ १६ गते उपस्थित गराउन भन्दै इलाका प्रहरी कार्यालय धरानलाई पत्राचार गरेको थियो । २ दिन पछि अर्थात् जेठ १८ गते मानिसलाई नै उपस्थित गराउन भनी धरानलाई पत्राचार गरेको भए पनि धरान प्रहरीले कारबाहीमा उदासिनता देखाएको पीडितमध्येका तैयव हुसेनले आरोप लगाए ।
उनीहरू घरि पत्रकारको साहारा लिइरहेका छन् भने घरि वडा कार्यालयलाई हारगुहार गरिरहेका छन् । पीडितहरूमध्येका छेदीलाल पासवानले भने, ‘हिजो हामी धरानको मेयर हर्क साम्पाङज्यूलाई पनि भेट्यौँ, उहाँले हाम्रो मुद्दालाई विशेष चासो दिनुभएको छ ।’ पासवानका अनुसार धरान–१९ को वडा कार्यालयमा पुगेर वडाध्यक्ष पूर्णबहादुर लिम्बूलाई पनि भेट गरी पीडकसँग छलफलको वातावरण बनाइदिनका लागि आग्रह गरेका छौँ ।

साहुले आफूहरू जस्ता धेरै किसानको जग्गाहरू कर्जा दिने नाममा चक्रवर्ती ब्याज लिएर जग्गा आफ्नो कब्जामा लिएको अर्का पीडित तैयव हुसेनले बताए । उनको नेतृत्वमा पीडित सङ्घर्ष समिति नै बनेको छ । ‘कयौँ महिनादेखि हामी प्रहरी कार्यालयको ढोका ढोका चहारिरहेका छौँ’ उनले भने, ‘तर, सुनुवाइ भएको छैन । कल्याणपुरको प्रहरीले धरान प्रहरीलाई चिठ्ठी दिएको छ तर धरान प्रहरीले चासो देखाउँदैन । हामी के गर्ने ?’
पीडितहरूको आक्षेपमाथि इलाका प्रहरी कार्यालय धरानका मुद्दा फाँटका इन्स्पेक्टर गजेन्द्र रायमाझीले भने, ‘हामीलाई उपस्थित गराउनु भनेकाले सम्बन्धित पीडकलाई त्यो विषयमा जानकारी गराउन हाम्रो टोली उसको घरमा गए पनि कोही मान्छे फेला परेन ।’ उनले प्रहरीलाई पक्राउ गर्ने आदेश नभएकाले धरपकड गर्न नमिल्ने बताए ।
‘अहिलेका लागि हामीले जानू भनेर मात्रै भनिदिने हो । उपस्थित नभएको हकमा त्यहीँअनुसारको जानकारी सम्बन्धित कार्यालयलाई जानकारी गराइदिन्छौँ’ उनले फोनसम्पर्कमा भने, ‘भोलि अदालतबाट पक्राउ पुर्जी ल्याएको अवस्था भयो भने हामीले थप प्रोसेस चाल्छौं । कानूनभन्दा बाहिर गएर हामी काम गर्दैनौँ ।’ धरान प्रहरीले पीडक भनिएका साहुको घर खानतलासी गरेर यसअघि नै रिपोर्ट पठाइसकेको उनले बताए ।